धनगढी : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ । कैलाली-५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि अन्तिममा उनलाई समानुपातिकतर्फ राख्ने तयारी भएको हो ।
यसअघि २०७४ मा आरजु कैलाली-५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । उनलाई एमालेका नारदमुनि रानाले चुनाव हराएका थिए ।
मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ । समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ ।

