नेपालको वर्तमान राजनीतिकी शक्तिशाली पात्र हुन्– डा. आरजु राणा देउवा। श्रीमान् शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति र देशका प्रधानमन्त्री रहँदा उनको शक्ति अहिले चुलिएको छ। कतिपयले पार्टी सभापति र प्रधानमन्त्री देउवा भए पनि पार्टी र देशको ‘बागडोर’ आरजुकै हातमा रहेको टिप्पणीसमेत गर्नेगर्छन्। पार्टी र सरकारले गर्ने अधिकांश निर्णयहरूले त्यो टिप्पणीलाई पुष्टि गर्दैआएका छन् पनि। जसमा आरजुकै हालीमुहाली भएको देखिँदै आएको छ।
आरजुको चाहना पनि प्रष्ट छ– श्रीमान्को राजनीतिक उत्तराधिकारी बन्ने। त्यसैले त पार्टी र सरकारको निर्णय प्रक्रियामा हस्तक्षेपकारी भूमिका निर्वाह गरेर प्रष्ट राजनीतिक सन्देश दिने र आफू स्थापित हुने प्रक्रियामा देखिन्छन्, आरजु।
श्रीमान्को उत्तराधिकारी बन्दै मुलुकको प्रधानमन्त्रीको चाहना बोकेकी उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनबाट कैलाली–५ (धनगढी) लाई बनाएकी छन्। उनले त्यतिबेला पहिलोपटक प्रत्यक्षबाट संसदीय निर्वाचनमा होमिँदा २०७० मा श्रीमान् निर्वाचित क्षेत्रलाई नै रोजेर प्रष्ट रूपमा उत्तराधिकारी बन्न खोजेको सन्देश प्रवाह गरेकी थिइन्। यही क्षेत्रबाटै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि आरजु नै उम्मेदवार बन्ने लगभग पक्कापक्की नै छ। जहाँबाट उनलाई कांग्रेसका स्थानीय समितिहरूले निर्विकल्प सिफारिस गरिसकेका छन्।
‘उहाँ कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर–५ मा नै चुनाव लड्नुहुन्छ,’ कांग्रेस कैलालीका जिल्ला सचिव केशव मिश्र भन्छन्, ‘उहाँ यसक्षेत्रको सर्वमान्य नेता हो। यही कारण पार्टीले उहाँलाई एकल रूपमा अगाडि सारिसकेको छ।’
तर, छैन सजिलो
धनगढीबाट जितेर देशको नेतृत्व गर्ने योजनामा रहेकी आरजुका लागि धनगढीकै चुनाव भने सजिलो देखिन्न। २०७४ सालमा उनी वाम गठबन्धनका उम्मेदवार एमाले नेता नारदमुनि रानासँग ४ हजार ८ सय ८० मतले पराजित भएकी थिइन्। रानाले २७ हजार २ सय २ मत पाउँदा आरजुले २२ हजार ३ सय २२ मत पाएकी थिइन्।
वाम गठबन्धन नै भए पनि त्यो निर्वाचन क्षेत्र कांग्रेसका लागि निकै सापेक्ष थियो। धनगढी उपमहानगरपालिकाको पूरै क्षेत्र र कैलारी गाउँपालिकाका दुई वडा सम्मिलित यो निर्वाचन क्षेत्रमा धनगढीमा मेयर/उपमेयरसहित १९ वडामध्ये १४ वडामा कांग्रेसका वडाध्यक्ष थिए। कैलारीको दुईमध्ये एक वडामा वडाध्यक्ष कांग्रेसको थियो।
उतिबेलाको आरजुको ‘हार’ कांग्रेसको हारभन्दा बढी आरजुलाई धनगढीमा रहेका कांग्रेसकै नेताकार्यकर्ताले स्वीकार गर्न नसक्दाका कारण भएको टिप्पणी हुने गरेको छ। कांग्रेस नेताकार्यकर्ताले नै आरजुलाई ‘टुरिस्ट’को आरोप लगाएका थिए। जुन आरोपबाट बच्न उनले निर्वाचनकै दौरान धनगढीमै २ करोडको घर किनेकी थिइन्।
आरजु निकटस्थहरू आन्तरिक असहयोग गर्नेहरूमा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाको नाम अग्रपंतिमा लिन्छन्। २०७० मा डडेलधुरा र तत्कालीन कैलाली–६ (हालको कैलाली–५) बाट निर्वाचित प्रधानमन्त्री देउवाले डडेलधुरा नछाडेर कैलाली छाडेका थिए। त्यसपछि भएको उपनिर्वाचनमा ओझाले जितेका थिए। २०७४ मा पनि उनी फेरि चुनाव लड्न चाहन्थे। तर, पार्टीले पेलेर आरजुलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए।
ओझालाई सोही चुनावमा असहयोग गरेको आरोप लगाउँदै पार्टीको साधारण सदस्यबाट निष्काशन गरिएको थियो। उनीमाथिको कारबाही अहिलेसम्म पनि फुकुवा भएको छैन। त्यो निर्वाचन इतिहास भइसकेको छ। अहिलेको निर्वाचनमा पनि आरजुका लागि अवस्था फेरिएको छैन, झन् बिग्रिएको छ। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको नतिजाले धनगढीले के गर्छ भन्न सकिने अवस्था छैन।
२०७४ मा धनगढी उपमहानगरका मेयर पदमा एक्लै लड्दा पनि सहज जित निकालेका नृप वड पछिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धनको सहायता हुँदासमेत फराकिलो मतान्तरले पराजित भएका छन्। त्यो पनि स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग। कांग्रेसभित्रकै विद्रोहले ठूलो भूमिका निर्वाह गरेको छ। हमाल २६ हजार ८ सय ६५ मतसहित विजयी हुँदा वडले जम्मा १४ हजार ८ सय १७ मत पाएका छन्।
जबकी वडाध्यक्षको मत हेर्ने हो भने कांग्रेस एक्लैको २२ हजार ९ सय ९७ मत छ। यस्तै गठबन्धन दलका सबैको जोड्ने हो भने ३७ हजार २ सय १३ मत हुन्छ। जसमा माओवादी केन्द्रको १० हजार १ सय २३, नेकपा एकीकृत समाजवादी(नेकपा एस)को ४ हजार २९ र जसपाको ६४ मत छ। विपक्षमा रहेको एमालेको वडाध्यक्ष मत २० हजार ८१ र राप्रपाको ३ हजार २ सय ३४ मत मात्रै छ। धनगढीका मेयरका उम्मेदवार वडको यस्तो हारका पछाडि उनको अलोकप्रियताभन्दा ‘आरजु लक्षित अन्तर्घात’ले नै बढी काम गरेको स्रोत बताउँछ।
अझै चिन्ता ओझा ‘फ्याक्टर’कै
अघिल्लो निर्वाचनपछि पार्टी अनुशासनको कारबाही परेका पूर्वमन्त्री ओझा कारबाही फुकुवा नहुँदै अहिले कांग्रेसबाटै उम्मेदवारका आकांक्षी थिए। जसका लागि उनीनिकट नेताकार्यकर्ताले चर्को दबाब सिर्जना गरेका थिए। तर, पार्टीका समितिहरूले भने आरजुको नाम नै सिफारिस गरेका छन्।
उता ओझाले सभापति देउवाबाहेक कसैलाई नछाड्ने भन्दै उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी यसपटक स्वतन्त्रबाट भए पनि चुनाव लड्ने उनी निकटस्थहरू बताउँछन्।
‘यसपटक पार्टीले न्याय गरेर उहाँलाई कारबाही फुकुवा गरी टिकट दिन्छ र जित्नु पनि हुन्छ,’ उनीनिकट मानिने कांग्रेस कैलालीका पूर्वजिल्ला सचिव पूर्ण कुँवरले भने, ‘टिकट पाए पनि उहाँ चुनाव लड्नुहुन्छ, नपाए स्वतन्त्रबाट भए पनि चुनाव लड्न समर्थकहरू सुझाव दिँदै छन्। सम्भवतः लड्नुहुन्छ।’
ओझा आफै नलडे पनि धनगढीमा उनको सहयोगविना चुनाव जित्न गाह्रो हुने उनीनिकट पूर्व विद्यार्थी नेता नवराज जोशी बताउँछन्। ‘२०७४ को स्थानीय निर्वाचनमा नृप वड (मेयर उम्मेदवार)जीका लागि उहाँ आफै चुनावी मैदानमा भोट माग्न जानुभएकाले जित्नुभयो,’ उनले भने, ‘यसपालि कसैलाई भोट नमाग्दा नृपजी हार्नुभयो। उहाँको सहयोगविना यहाँ कोही जित्न सक्दैन।’
ओझा फ्याक्टरले आरजुलाई असर पार्ने देखिएपछि पछिल्लो समय आरजुनिकट नेताहरू ओझालाई फकाउने कोशिस गरिरहेका छन्। ओझामाथिको कारबाही फुकुवा नहुँदै उनको घरमै पुगेर फकाउने कोसिस गरिएको छ। जसमा पार्टीका केन्द्रीय सदस्य पूर्वमेयर वडसहित जिल्ला सभापति नारायणदत्त भट्ट, सभापतिका प्रत्यासी रहेका प्रकाश बम, प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, कांग्रेसका प्रदेश कोषाध्यक्ष उत्तम कठायत र जिल्ला सचिव नृप सुनार पुगेका थिए। आरजुका लागि फकाउन गएका उनीहरूसँग ओझाले उल्टै आफूलाई पार्टीबाट टिकट दिलाउन आग्रह गरेका थिए।
ओझा स्वतन्त्र लडे वा असहयोग मात्रै गरे पनि आरजुका लागि आउने निर्वाचन पनि निकै कठिन हुने धेरैको अनुमान छ।
समानुपातिकमा सिफारिस चाहन्थे। तर, उनको चाहनाबिपरित आरजु पक्षले १३ जनाको सिफारिस गरेको छ। यस्तै प्रदेश सभाको ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा पनि उनको नाम सिफारिस भएको छ। जसमा भने उनले खासै रुचि देखाएका छैनन्।
उता बम कैलाली–५ बाट प्रतिनिधि र प्रदेशसभा दुबैमा प्रत्यक्षमा सिफारिस भएका छन्। प्रदेशसभामा भएपनि उनी उम्मेदवार बन्न सक्ने देखिएको छ।
यही समूहबाट जिल्ला उपसभापति रहेका खेम चौधरी, जिल्ला सचिव नृप सुनार, क्षेत्रीय सभापति रिता चौधरी, महासमिति सदस्य भक्तबहादुर थापालगायत पनि आकांक्षी छन्। उनीहरूको पनि सम्बोधन हुनुपर्ने सो समूहको माग छ।
पुख्र्यौली भूगोल र जातीय फ्याक्टर
धनगढीमा रानाथारू समुदायबाहेक पहाडी जिल्लामा डोटीबाट झरेको समुदायको बहुल्यता छ। त्यसमा पनि ब्राह्मण समाज अझ बाक्लो छ। पूर्वमन्त्री ओझाको पुख्र्यौली थलो पनि डोटी नै हो। सुदूरपश्चिमकै अन्य पहाडी जिल्ला र कर्णालीपारीबाट आएको समुदाय कम छ।
ओझाकै कारण डोटेली ब्राह्मण समाज आरजुसँग रुष्ट छ। ओझालाई पार्टीबाट निष्काशन गरेर आएको भन्दै यो समुदायले आरजुलाई रुचाएको छैन। यसबाहेक आरजुकै कारण जिल्ला सभापति हारेका बम पनि डोटीबाटै कैलाली झरेका हुन्। जितेका भट्ट डडेलधुराबाट झरेका हुन्। पुख्र्यौली भुगोलको भेदले चरम मत प्रभावित हुने धनगढीमा यहीकारण डोटेली समाज आरजुसँग रुष्ट छ।
जित्ने दाबी
उता आरजुनिकटस्थहरू भविष्यको प्रधानमन्त्री भन्दै प्रचारप्रसारमा लागिसकेका छन्। यसपटक आरजु सजिलै जित्ने उनीहरूको दाबी छ। अघिल्लोपटक पराजित भएपनि विकासका लागि जितेको सांसदभन्दा बढी काम गरेकाले सजिलै जित्ने जिल्ला सचिव मिश्र बताउँछन्।
‘चुनाव हारे पनि कोरोनाको महामारीमा औषधि उपचार तथा अक्सिजनदेखि लिएर सुत्केरी महिला तथा नवजात शिशुका क्षेत्रमा आरजुले खेलेको भूमिका सह्रानिय छ,’ उनले भने, ‘त्यति मात्रै हैन, विकासे बजेटका लागि केन्द्रसँग समन्वयात्मक भूमिका खेल्दै डा. आरजुले ४८ करोडको हाराहारीमा बजेट हाल्न लगाउनुु भएको छ।’ नागरिक दैनिकबाट साभार

