KhabarUjyalo

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

२८ भाद्र २०७९, मंगलवार
सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

काठमाडौं, भदौ २८ । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ ।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नपाल (जसपा)र राष्ट्रिय जनमार्चाका पाँच दलीय गठबन्धन रहको छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँट आन्तरिक छलफलमा रहेको छ ।

हाल सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण बहुसंख्यक पालिकामा पराजय व्यहोरेको एमाले साना दलसँग गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभामा बलियो उपस्थिति देखाउन खोजेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैं गठबन्धन निर्माणका लागि आन्तरिक छलफलमा छन् ।

स्रोतका अनुसार ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । निर्णाय छलफल एवं सिटबाँडफाँटका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई वार्ता एवं छलफल गर्न जिम्मेवारी दिएको छ । उता, लोसपाले सर्वेन्द्रनाथ शुक्ललाई वार्ताका लागि जिम्मेवारी दिएको छ । राप्रपा अध्यक्ष लिङदेनसँग ओली आफैं छलफल गरिरहेका छन् । उनीहरू दुवै झापाका हुन् ।

यसअघि, २०७४ को निर्वाचनमा समेत ओली र लिङ्देनबीच एकअर्कालाई सहयोग दिने सहमति भएको थियो । लासपाले यसअघि पाँच दलीय गठबन्धनमा सहभागी हुने प्रयास गरेको थियो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोसपालाई पाँच दलीय गठबन्धनमा सहभागी गराउन प्रयास गरे पनि’ उनी असफल बने ।

देउवा, ठाकुर, महतोबीच पटकपटक प्रधानमन्त्री निवास बालुवाटारमा विगतमा छलफल भएको थियो । तर, पाँच दलीय गठबन्धनमा लोसपा सहभागी हुन सक्ने वातावरण नबनेपछि लोसपा अन्ततः एमालेसँग तालमेल गर्ने निष्कर्षमा पुगेको हो । राजधानी दैनिकबाट

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo