KhabarUjyalo

विश्वमा कोरोना संक्रमण: कतै तेस्रो, कतै चौथो लहरको त्रास

२१ श्रावण २०७८, बिहीबार
विश्वमा कोरोना संक्रमण: कतै तेस्रो, कतै चौथो लहरको त्रास

चीनको हुपेई प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ ।

विश्वभर कुल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् । कोरोना भाइरसको सङ्क्रमितको यो संख्या विश्वको जनसंख्याको २ दशमलव ५ प्रतिशतभन्दा बढी हो ।

जति समय बित्यो त्यति नै यो भाइरसको प्रकोप कम हुँदै जाने आकलन शुरुमा गरिएको थियो । पहिलो वेभकै समयमा गत वर्ष नै विश्वका वैज्ञानिक तथा जनस्वास्थ्यविद्ले दोस्रो या तेस्रो वेभको कल्पना पनि गरेका थिएनन् ।

तर परिस्थिति त्यस्तो रहेन । अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःशुरु भएको छ । अनि अमेरिका गएको महीनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो कि भन्ने दिशातिर गएकोमा अहिले फेरि सङ्क्रमित बढ्न थालेका छन् । केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन् ।

यसरी पछिल्ला केही महीनामा फेरि बढ्दोरुपमा देखिन थालेको यो महामारीको कहरले विश्वको अर्थतन्त्रलगायत मानवीय जीवनशैलीलाई नै नराम्ररी परिवर्तन गरिदिएको छ । विश्वका देशले उडान प्रतिबन्ध लगाएका छन् । जसका कारण विश्व पर्यटन नराम्ररी प्रभावित छ । त्यस्तै होटल, एयरलाइन्स तथा अरु पर्यटकीय संरचनाको अवस्था कल्पनाभन्दा बाहिर पुगेको छ । विश्वका मानिस पर्यटकका रुपमा घर बाहिर या विदेशमा निस्किन नपाएपछि यसबाट असर त पर्ने नै भयो ।

अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार यस भाइरसको एउटा मात्र विकल्प खोप हो । हाल विश्वको जनसंख्या ७ अर्ब ८७ करोडभन्दा बढी छ । ४ अर्ब १५ करोड ८ लाख १५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अरु बाँकी अर्थात् आधा विश्वले त अझै खोप लगाउनै बाँकी छ ।

खोपको समानुपातिक वितरण हुनसकेको छैन । यसले गर्दा विश्वमा खोपको कतै धेरै मात्रा थुप्रिएको सुनिन्छ भने कतैका नागरिकले पहिलो मात्रा लगाइसकेका तर दोस्रो मात्रा नपाएर पर्खिबसेका छन् । यतिमात्र होइन कि धेरैले त पहिलो मात्रा नै पाएका छैनन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख ४६ हजार २०२ जनाको कोरोनाजन्य जटिलताबाट मात्र मृत्यु भएको छ । यसबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । महामारी नै अझै कहिले रोकिने भन्ने पत्तो छैन र एकपछि अर्कोगरी विभिन्न भेरिएन्ट दिनानुदिन थपिँदै गएका बताइन्छ । यस्तो अवस्थामा कुनै एक या दुई देशमात्र होइन कि विश्व नै यो महामारीबाट कसरी बाहिर निस्किने हो भन्ने विषय नै झन्भन्दा झन् अन्यौलमा पर्दैछ ।

विश्वमा यस्ता महामारीजन्य रोग यसअघि पनि नआएको भने होइन । सन् १९१८ मा शुरु भएको इन्फ्लुएन्जा माहामारीलाई इतिहासकै गम्भीर माहामारीको रुपमा लिइएको छ । यो माहामारी ‘एच १ एन १’ भाइरस् नाम दिइएको इन्फ्लुएन्जा फ्लुबाट ५० करोड व्यक्ति सङ्क्रमित भएका थिए भने यस रोगको सङ्क्रमणको कारण ५ करोड व्यक्तिको मृत्यु भएको थियो । सो सङ्क्रमित संख्या उक्त समयको विश्वको जनसंख्याको एक तिहाइ थियो ।, यो समाचार आर्थिक अयिभान दैनिकमा छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo