काठमाडौं– केही दिन यता कोरोना भाइरस संक्रमणको ग्राफ बढ्दो छ। संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा थप कडा पार्ने तयारी गरिएको छ।
पछिल्लो पटक साउन २० गतेसम्मका लागि जारी गरिएको निषेध आदेशलाई थप कडा पार्ने गरी तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय सक्रिय भएका छन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले खुकुलो पारेर थप गरिएको निषेध आदेशमा लापरबाही बढेको तथा स्वास्थ्यका मापदण्डहरु कार्यान्वयन नगरेको पाइएपछि प्रशासन कार्यालयहरु थप कडाई गर्ने तयारीमा जुटेको बताए। उनले यसअघि पनि अनुगमन भइरहे पनि अब यसलाई झनै प्रभावकारी बनाउनुपर्ने देखिएको बताए।
प्रमुख जिल्ला अधिकारीहरु सीसीएमसीसँग छलफल गरेर निषेध आदेशलाई थप लम्ब्याउने र अहिले खुलेका केही जोखिम क्षेत्रहरु बन्द गर्न स्वीकृति लिने तयारीमा छन्। पछिल्लो पटक गत साउन ११ गते १० दिनका लाथि थप गरिएको निषेध आदेशको अवधि साउन २० गते राति १२ बजे सकिँदैछ।