धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले आगामी निर्वाचनमा डोटीमा कांग्रेस एक्लै चुनाव लड्ने बताएका छन् ।
नेपाल प्रेस युनियन डोटीले बुधबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै चुनाव लड्ने बताएका हुन् ।
आगामी निर्वाचनमा सत्तासिन पाँच दल गठबन्धन गरेर चुनाव लड्ने तयारी गरिरहेका बेला कांग्रेस प्रदेश सभापति बलायरले डोटीमा कांग्रेस बलियो रहेको भन्दै गठबन्धनमा रहेका अन्य दलका लागि छोडन नसकिने बताएका छन् । ‘अहिले डोटी नेपाली कांग्रेसको एक नम्बर जिल्ला हो। एक नम्बर अवस्थामा रहेको जिल्लालाई छाडेर हामी ५० नम्बरमा भएको जिल्ला लिन चाहदैनौँ,’ उनले भने, ‘को निर्वाचन लड्ने त्यो पछिको कुरा हो। डोटीमा कांग्रेसले नेतृत्व लिनु पर्दछ। पात्र जोसुकै भए पनि कुनै संकोच छैन।’
सत्ता गठबन्धनका तर्फबाट डोटीमा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेमगरले प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न इच्छा देखाइरहेका बेला सभापति बलायरको अभिव्यक्ति दोहोरिएको हो।

