KhabarUjyalo

यसपालिको चुनाव हजुरबुवा VS नाति-नातिनाको : सागर ढकाल

२४ श्रावण २०७९, मंगलवार
यसपालिको चुनाव हजुरबुवा VS नाति-नातिनाको : सागर ढकाल

धनगढी : डडेल्धुराबाट शेरबहादुर देउवा चुनाव लड्ने घोषणा गरेका सागर ढकालले कुनै पनि हालतमा विजयी हाँसिल गर्ने र प्रधानमन्त्री भएर देशको मुहार फेर्ने सपना रहेको बताएका छन् ।

हजुरबुबा पुस्ताका राजनीतिक नेतृत्वलाई यो पटक विश्राम दिन देशैभरबाट युवाहरु खटिनुपर्ने अबको प्रधानमन्त्री ४० वर्षमुनीका हुनुपर्ने बताएका छन् ।

केहि दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाएका थिए । केपी ओलीले स्वतन्त्रलाई भडुवा भनेपछि मंगलबार फेसबुकमा लामो स्टाटस लेख्दै ओलीको अभिव्यक्तिको कडा जवाफ फर्काएका छन् । उनले सामाजिक संजालमा उनले लेखेका छन्, 

यस्तो छ उनको स्टाटस
** आर्थिक पाटो ** यसपालिको चुनाव हजुरबुवा VS नाति-नातिना ** भडुवा भनेर पत्थर फाल्ने प्रधानमन्त्री हजुरबुवालाई नातिको गुलाबको उत्तर !!

विधिवत् रूपमा चुनावी अभियान सुरु गरेको जम्मा करिब २०-२५ दिन मात्र भयो । यति चाँडै मेरो चरित्र हत्या गर्न केही जना साथीहरू लाग्नु भएको छ । साथै पूर्व प्रधानमन्त्रीले स्वतन्त्रहरूको राजनीतिको कुनै एजेन्डा नै नभएको र यिनीहरू भँडुवा हुन् भन्न सम्म भ्याउनु भएछ । नयाँ शिराबाट राजनीति गर्न खोजेका हामीले यति चाँडै जित्न सुरु गर्न थालेछौँ , खुसी लाग्यो ।

अङ्ग्रेजीमा भनाइ छ – First they ignore you, Second they laugh at you ; Then they fight ;Then you win. अर्थात् पहिले मतलब गर्नुहुन्न, त्यसपछि हाँस्नुहुन्छ, त्यसपछि लड्नुहुन्छ जुन अब सुरु भएको छ, त्यसपछि हामीले नै जित्ने हो । अब भने मलाई हजुरबुवाहरू र नातिनातिनाबिचको प्रतिस्पर्धा विधिवत् रूपमा सुरु भएको छ जस्तो लाग्दैछ ।

मैंले पहिलो र दोस्रो चरण पार गरिसकेँ । पहिलो र दोस्रो चरण २-३ महिना अगाडि सुरु भएको थियो। जुन बेला ४० मुनिको भनेपछि विश्वास नै गर्दैनथे, यस्तो पनि एजेन्डा हुन्छ? भन्दथे। एजेन्डा सबैले उठाइदिनुभएकोले युवाको मुद्दा निकै राम्रो गरि उठ्दैछ। अब अहिले तेस्रो चरणमा छौ। अलि गाह्रो भन्ने पक्कै छ।

पूर्व प्रधानमन्त्रीहरू सबैलाइ ढुक्क आराम दिने अभियान चलिरहेकाले पनि उहाँहरूलाई खपिनसक्नु छट्पटी भएको हामी देख्न सक्छौँ । हामीलाई सजिलै हजुरबुवाहरूले बाटो चाहिँ छोड्नुहुन्न। अनेक तरिकाबाट पूर्व प्रधानमन्त्रीहरूको राजनितिमा हजुरबुवाहरुको सिन्डिकेट लागु गर्न एकले अर्कालाई जोडतोडले सहयोग गर्न लाग्नु हुनेछ। नातिनातिनाहरुलाई हराउन हजुरबुवाहरूले भरपुर शक्ति प्रयोग गर्नुहुनेछ। हामी युवाहरूले नेपाली जनताको साथ र सहयोगको ठुलो अपेक्षा गरेको छौ, दह्रो गरेर खुट्टा टेक्नेछौ । नाति नातिना भर्खर राजनीतिमा आएको र केही पनि गल्ती नदेखेका हुनाले, अब हाम्रो खुट्टा तान्नको लागि हजुरबुवाहरुले जानी जानी आधारहीन हुँदै नभएका कुराहरू आफैँ उठाउनुभएको छ । अथवा भनूँ, उहाँका सहयोगीहरूले केही मिडियाहरूलाई हाम्रा बारेमा जबरजस्ती आधारहिन नराम्रा लेख लेख्न र छाप्न लगाउन थाल्नुभएको छ । हामी सबै यसमा सचेत हुनु अति आवश्यक हुनुपर्छ ।

हजुरहरूलाई जानकारी गराइहालूँ – चुनावका लागि अहिलेसम्म एकजना बाहेककसैबाट एक रुपियाँ पनि लिएको छैन। डडेलधुरा जाँदा उधोग वाणिज्य संघका एक व्यापारीले लिन नमान्दानमान्दै पनि दिनुभएको ५००० रुपियाँ मात्र हो। मलाई त्यो पैसा दिनुभएको साउन ११ गते साँझ ८:४० बजे हो। मलाई पैसा दिने सबैको नाम, मिति र सकेसम्म समय पनि सार्वजनिक गर्नेछु । कति पैसा आयो र कति पैसा गयो सबै सार्वजनिक हुनेछ। सार्वजनिक गर्न मान्नुहुन्न भने मलाई एक रुपियाँ पनि नदिनुहोला ।

हजुरबुवाहरूलाई नातिनातिनाहरू हराउनका लागि धेरै मेहनत गर्न दिने पक्षमा हामी छैनौँ । हामीले हाम्रो काम सफा रूपमा गर्नेछौँ ताकि आराम दिने कुरामा अन्तिममा हजुरबुवाहरुलाई तीतो नहोस् । हजुरबुवाहरूलाई नाति- नातिनाले खुसी बनाएर बिदा गर्नुपर्नेछ। हजुरबुबाहरूले विष ओकलेपनि हामी नाति-नातिनाले गुलाबले उत्तर दिनुपर्छ। आशा छ, हजुरबुवाहरुले आफ्नो बिदाइ गर्ने समयमा नातिनातिनासित तितो सम्बन्ध बनाउनुहुने छैन। अब आइन्दा नातिनातिनालाइ भँडुवाहरू भनेर अनावश्यक आफ्नै शिर झुकाउने काम गर्नुहुने छैन । हुजुरबुवाहरुको अबको चुरिफुरि ४-५ महिनाको हो, त्यहिभएर अलि बढि गर्नुहोला, तर हाम्रो भने ३०-४० बर्षको हो, त्यसैले हामी गम्भिर हुनुको विकल्प छैन।

यसपालिको राजनीति हजुरबुवाहरु भर्सेस नातिनातिनाहरू हुने हो। राजनौतिक प्रतिस्पर्धामा अब नाति-नातिनाले हजुरबुवाआमा हरुलाइ ढुक्कै आराम दिनेछन् , यसमा सबै ढुक्क हुनुहोला। छटपटाहट यति चाँडै सुरु भयो। अझै ३ -४ महिना बाँकी छ , हजुरबुवाहरुलाइ अब राजनीति गर्न पनि गाह्रो भइसकेको हामीलाइ अनुभुति भएको छ। पूर्व प्रधानमन्त्री हजुरबुवाहरुलाइ सुझाव — अहिल्यै नछट्पट्टिएको भए राम्रो हुने थियो । कोही भँडुवा भन्नुहुन्छ । कोही आफू जन्मेको क्षेत्रबाट नै उठ्नसम्म डराउनुहुन्छ, कोसैले सामानुपातिकबाट प्रधानमन्त्री हुन्छु भनेर सोच्नु भएको छ।

हजुरबुवाहरूको यो चुनावमा भागाभाग नै होला जस्तो छ। तपाईँका नातिनातिनाको जनसंख्या ७०-८०% छ। नातिनातिनाहरूलाइ धेरै जिस्काउने, गाली गर्ने , बिच्काउने गर्दा आउने चुनावमा सडकमा लौरो टेक्ने हजुरबुवाहरुको मात्र समूह होला। ख्याल गर्नुहोला । धेरै नातिनातिनालाई बिच्काउने, जिस्काउने र हेप्ने काम नगर्नुहोला , फेरि हजुरका छोरा-छोरीहरूले पनि तपाईँलाई साथ दिन छोडेर नातिनातिना लाइ साथ दिन आउनु भयो भने? हाम्रा बा-आमाले आफ्ना बा-आमामा होइन अब आफ्ना छोराछोरीमा देशको भविष्य देख्नुभएको छ। तपाईँकै पार्टीका नातिनातिनाहरूको तपाईँसँग सडकमा गएनन् र तपाईँकै नातिनातिनाले हजुरबुवा! अब अत्ति भयो, आराम गर्नुस् , तपाइको राजनीति पुग्यो, भने के गर्नुहुन्छ ? सोच्नु भएको छ ?

समय अझै बाँकी छ , नाति-नातिनाहरूले हजुरबुवाआमाहरुलाई वृध्दभत्ता दिएर आराम यसैपालि दिने हो, १ इन्च पनि दायाँ – बायाको कुरै छैन । अबको ३-४ महिनामा पूर्व प्रधानमन्त्री हजुरबुवाहरूलाई एकदम माया गरेर, खुट्टामा ढोगेर सम्मान सहित आराम नै दिने हो। सबै भन्दा उत्तम विकल्प अब पूर्व प्रधानमन्त्री हुुरबुवाहरू जम्मा भएर देश बनाउन सक्ने नातिनातिनाहरू जम्मा गरेर देशको चाबी नातिनातिलाई सुम्पेर चुनावअघि नै वृद्धभत्तासहित आराम गर्ने सामूहिक निर्णय गर्नुस्। जे जे गर्नुपर्ने थियो, गर्नुभयो। हाम्रो माया र सम्मान छ । तर अब चाहिँ हजुरहरूबाट एकदमै भयो र एकदमै पुग्यो। अब फेरि अरू काम गरेर केहि गुण लगाउनु पर्दैन । वृद्धभत्ता लिएर आराम गरिदिए नातिनातिना पुस्तालाई त्यही नै अन्तिम ठुलो गुण हुने थियो।

धेरै भडुवा भनेर नजिस्क्याउनु होला , देश भरि सबै जनता उठेर हजुरबुवाहरुलाइ पुर्ण आराम दिने भन्ने माग सोचे भन्दा चाढो चुनाव भन्दा धेरै अघि नै डडेलो जसरि दन्केला । अलि बढि नै गरेमा हजुरबुवाहरुलाइ चुनाव अघि नै राणा र राजा फालेजसरि राजनीतिबाट जबरजस्ति सन्यास लिनुपर्ने बनाउनु पर्ने पनि हनसक्छ । आशा छ , आफुहरु सामुहिक रुपमा बसेर, सामुहिक रुपमा अबको १-२ महिनामा सन्यासको घोषणा गर्नुहुनेछ ।
हजुरहरुको नाति
सागर ढकाल
सबैको भलो होस् ‌ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo