डडेल्धुरा । डडेल्धुरामा करेन्ट लागेर दुई बाख्रा मरेका छन । बिजुलीको पोलको सपोर्ट तारमा करेन्ट आउदा अमरगढी नगरपालिका वडा नं. ८ डकले स्थित जंगलमा चर्न लागेका बाख्रा मरेका हुन ।
सराउलीका घाणा सामुदायिक वनमा चर्दै गरेका स्थानीय पदमसिंह गैरालका बाख्रा शनिवार दिउसो मरेका हुन ।
बिजुलीको पोलबाट लत्रेर भुई छोएको तारमा करेन्ट आउदा बाख्रा मरेको उनले बताए । आफु भने करेन्ट लाग्नबाट जोगिएको उनको भनाई छ । बाख्रासंगै आफु पनि त्यही भएको र बाख्रालाई करेन्ट लाग्दा छाता फालेर भागेको उनले बताए । शुक्रबार बिहानै देखि डडेल्धुरा लगायत सुदूरपश्चिमका सबै जिल्लाहरुमा पानी परिरहेको छ । पानी परिरहेकै बेला पोललाई सहयोग गर्ने लत्रिएको तारमा करेन्ट आउदा बाख्रा मरेको उनले बताए ।
बिद्युतिय लाईनबाट क्षती भए बिद्युत प्राधिकरणले क्षती पूर्ती गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख रमेश अवस्थीले जानकारी दिए । क्षती पूर्ती दिने नियमावली भएकाले नियमसंगत रुपमा बाख्रा धनीलाई क्षतिपूर्ती दिईने उनले बताए ।