काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन विमानस्थलमा १०० किलो सुन समातिनुमा आफ्नो ठूलो भूमिका भएको दाबी गरेका छन् । प्रेस युनियन रुपन्देहीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
भन्सारमा हुने भ्रष्टाचार रोक्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले पुनः निरन्तरता दिँदा सुन समातिएको उनले पटक-पटक दोहोर्याए ।
सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण सुन समातिएको दाबी गर्दै उनले भने, ‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ।’
उनले सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानलाई सघाउने बताउँदै सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने पनि उनले बताए ।
अर्थमन्त्री महतले राजस्वको अनुसन्धानलाई सघाउन संलग्न कर्मचारीलाई निलम्बन गरिएको र भन्सार विभागले पनि छानबिन गरिरहेको बताए ।