काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आम चुनावको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावको तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।
भक्तपुरका सभापति दुर्लभ थापाले भन्नुभयो, ‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं । सभापतिज्यूले अहिले भेला नगर्न भन्नुभयो ।’ १४ औं महाधिवेशनपछि नयाँ जिल्ला कार्यसमिति आएको भन्दै उनीहरूले पदाधिकारीको भेलाका गर्न योजनामा थिए ।
तर देउवाले भेला र बैठकभन्दा पनि चुनावको तयारीमा जुट्न निर्देशन दिएको थापाले बताउनुभयो । देउवाले पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिन पनि निर्देशन दिएको थापाको भनाइ छ ।
प्रधानमन्त्री देउवाले मंसिर ४ गतेका लागि निर्वाचनको मित तय गरिने सङ्केत दिनुभएको थियो ।
थापाका अनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्न सक्ने जनाइएको छ ।
