काठमाडौं । राप्रपाका केन्द्रीय सदस्यहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना गरेका छन् । उनीहरूले जायज विषयमा नेतृत्वको आलोचना गर्दासमेत अध्यक्ष लिङ्देनले कतिपय कार्यकर्तालाई धम्क्याउने तथा कालोसूचीमा राख्ने गरेको भन्दै युवा केन्द्रीय सदस्यहरूले आलोचना गरेका हुन् ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो दिन बोल्ने केन्द्रीय सदस्यहरूले नेतृत्वको खुलेर आलोचना गरेको एक नेताले जानकारी दिएका छन् ।
अध्यक्षले विधान मिचेर निरङ्कुश कार्य गरेको पनि उनीहरूको आरोप थियो । अध्यक्षले विधान मिचेर केन्द्रीय सचिवालय गठन गरेको, हालसम्म पनि संसदीय समिति र निर्देशन समिति गठन नगरेको, विधान विपरीत केन्द्रीय सदस्यहरू मनोनयन गरेको उनीहरूको आरोप छ । यस्तै आठ महिनासम्म महाधिवेशनले पास गरेको कार्यपत्रहरु कार्यकर्तालाई उपलब्ध नगराइएको, सक्रिय सदस्यसम्म नभएको व्यक्तिलाई जथाभाबी मनोनयन गरिएको पनि उनीहरूको आरोप छ ।
पार्टीमा एक व्यक्ति एक पदको सिद्धान्त भए पनि सोको कार्यान्वयनमा नेतृत्व उदासीन हुनुका साथै आफू निकटलाई बहु पद दिइएकोप्रति समेत उनीहरूको कटाक्ष थियो । सोमबार बिहानी सत्रको बैठकमा पहिलो सदस्यको रुपमा केन्द्रीय सदस्य जनकराज पाठक बोल्नुभएको थियो ।
उहाँले नयाँ नेतृत्व आएको ८ महिनासम्म पनि भ्रातृ गठन नभएको बताउनुभएको थियो । गठन भएका सङ्गठन पनि नेतृत्वको हस्तक्षेपका कारण अस्तव्यस्त टिप्पणी पाठकले गरेको ती नेताको भनाइ छ । यस्तै गत स्थानीय निर्वाचनमा अपेक्षित मत नआए र आउँदो सङ्घीय निर्वाचनमा पनि तालमेलको विषय आजसम्म अगाडि नबढाएकोप्रति उहाँले प्रश्न उठाउनुभएको थियो ।
केन्द्रीय सदस्यहरू ध्रुव रायमाझी, देवु पराजुली, रामराज कोइराला, प्रवीण थोकर, किशोर कार्की, मोनिका श्रेष्ठ, सावित्रा क्षेत्री, हिकमत सिं कार्की, भरत पाठक, जगत गौचन,निरन्जन थापा, सुर्यबहादुर सिंह लगायतले पनि नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए । उनीहरूले पार्टीलाई सुधारेर लानु पर्नेमा जोड दिँदै अध्यक्ष एकलौटी रुपमा अगाडि बढ्न नहुनेमा जोड दिएका थिए ।
बैठकमा केन्द्रीय सदस्य बतिता शाहीले पार्टीले फौजदारी मुद्दा खेपिरहेका व्यक्तिलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको बताइन् । मनोनयनमा अध्यक्षले विधानको उपहास गरेको उनको कटाक्ष थियो । राप्रपा अध्यक्ष लिङ्देनले विभिन्न फोरमबाटै नेता कार्यकर्तालाई धम्क्याउने गरेको र त्यसको उदाहरण काभ्रे र भक्तपुरको कार्यक्रम भएको केन्द्रीय सदस्यहरूले उठाएका थिए । यस्तै पार्टीलाई सही ढंगले चलाउन दवाव दिने दिलनाथ गिरी, श्याम तिमल्सिनालगायतप्रति पनि नेतृत्व असहिष्णु भएको केही केन्द्रीय सदस्यले बताएका ती नेताको भनाइ छ । नेपाली नेटवर्कबाट