नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी फेला नपर्दा पनि सरकार र प्रतिपक्षी दल कसैले खोजी नगरेको भन्दै एक सांसदले आपत्ति जनाएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले एम अधिकारी पत्ता लगाउन माग गरेका हुन् ।
‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ हाम्रो गाउँघरमा । सबभन्दा ठूलो पार्टीको विभागको केन्द्रीय सदस्य हराउँदा उहाँको खोजी न सरकार गर्छ, न प्रतिपक्षले गर्छ,’ महतले भने, ‘सरकारले विद्यार्थीको जिम्मा लगाइदिएको छ । विडम्बना सीसी क्यामेरा खोल्ने समिति बनेको छ, तर महत्त्वपूर्ण मान्छे हराएको बेला खोज्ने समिति बनेका छैन ।’
जुम्लाका सांसद महतले सरकारले खोजी नगरे त्यो व्यक्तिको खोजी गर्नु सम्बन्धित थरका मान्छेको दायित्व हुने बताए । ‘हाम्रोतिर महत थरको मान्छे हराए महत थरका मान्छेहरूले खोज्छन्, अपुताली खानेको पनि जिम्मा हुन्छ । एम अधिकारी खोज्ने जिम्मा सरकारले नगरेपनि अधिकारी थरकाले खोज्नुपर्यो,’ महतले भने ।
यसअघि महतले देशलाई श्रीलंका बनाउने एम अधिकारी बालकोटको हनुमान भएको भन्दै संसद्मा व्यंग्य गरेका थिए ।
