काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न सुझाव दिनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्दै पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदेश सरकारसँग समन्वय गरेर राजनीतिक नेतृत्वको सुविधा कटौती गर्न सुझाव दिनुभएको हो ।
उहाँले राजनीतिक सहमति गरी डा। डिल्लीराज खनाल नेतृत्वको समितिको प्रतिवेदन लागू गर्न पनि सुझाव दिनुभएको छ । सरकारले २०७५ सालमा खनालको नेतृत्वमा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो । उक्त समितिले सरकारको खर्च घटाउनका लागि सरकारका विभिन्न निकाय खारेज गर्नेदेखि मन्त्रालयको संख्या घटाउने सम्मको सुझाव दिएको थियो ।
नेता पोखरेलले कांग्रेस नेतृत्वको वर्तमान सरकारले आफ्नै आर्थिक नीतिका आधारमा मुलुक चलाउनुपर्ने बताउनुभएको छ ।
सरकारले महँगा हतियार र हेलिकप्टर खरिद गर्न लागेको विषयमा पनि पोखरेलले प्रधानमन्त्रीको जवाफ मागेका छन् । ‘विदेशी मुद्रा सञ्चितीको यस्तो अवस्थामा के अहिले यस्ता सामग्रीहरू खरिद गर्ने बेला हो ?’ सरकारको यस्तो गतिविधिले मुलुकलाई श्रीलंकाकै बाटोमा लाने पोखरेलले बताउनुभएको छ ।
