KhabarUjyalo

सरकार सरले चलाउनुहुन्छ कि म्याडमले, …..? : ओली

२७ असार २०७९, सोमबार
सरकार सरले चलाउनुहुन्छ कि म्याडमले, …..? : ओली

काठमाडौ : एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार इतिहासमै नभएको परमादेशी सरकार भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले महंगीको मारले जनताको ढाड भाँचेको भन्दै त्यस्ता कामबाट जनतामा वितृष्णा बढेको टिप्पणी गरे।

‘महंगीको मारले जनताको ढाड भाँचेको छ। यस्तो अवस्थामा त्यस्ता कामहरुबाट जनतालाई दल र राज्यप्रतिको वितृष्णाको अवस्था कसले बनाएको छ भन्न सकिन्छ,’ ओलीले भने, ‘यो अवस्था अहिलेको गठबन्धनले बनाएको छ।’

सम्पादकहरुको प्रश्नको जवाफमा उनले अघि भनेका छन्, ‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यतापट्टी जान चाहन्न मेरो विषय बनाउन चाहन्न । दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनुहुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावर मै हुँ भन्नेले चलाउनुहुन्छ ? त्यतापट्टी पनि जान चाहन्न । तर जसले चलाए पनि चलाएको त यही हो ।’

मुलुकको अर्थतन्त्रलाई यसरी नै अधोगतिमा जान दिने हो भने कम्तीमा श्रीलंकाको स्थितिमा पुग्ने उनले बताए ।

ओलीले संविधान जारी गर्दा धेरै कुरा विचार गर्न नपाएको भन्दै संघीयता पनि सोही कारण लागू गरिएको बताएका छन्। उनले संविधान बनाउँदै गर्दा विभिन्न खालका विषाक्त विचार व्यक्त भएको, आफूहरुको काँधमा त्यतिबेला देशलाई जोगाउने जिम्मेवारी रहेको भन्दै उनले थुप्रै कुरामा विचार गरिएको भए पनि कतिपय कुरामा विचार पुर्‍याउन नसकिएको बताए।

‘हामीले जिम्मेवारी बहन गर्दा धेरै कुरामा समुचित ढंगले विचार पुर्‍याउन परिस्थिति रहेन’, सोमबार सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा संघीयताका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘अब एउटा चिज आइसकेपछि यसलाई अनवरत घोचेको घोच्यै गर्ने, आलोचना गरेको गर्‍यै गर्ने होइन, एक तहसम्म ‘अनेस्ट्ली’ यसको कार्यान्वयन गर्ने कोसिस गर्नुपर्छ।’

ओलीले संघीयताका कमिकमजोरी र यसमा रहेका र देखिएका विसंगतिहरु हटाउने कोसिस गर्नुपर्ने बताए। उनले संघीयतालाई आग्रहवस असफल भयो भन्न नहुने बताए। ‘यो सफल नहुने नै चिज हो भने त हामीले चाहेर पनि सफल हुँदैन न नि त। तर हामीले यसलाई असफल बनाउन चाहने कि सफल बनाउन चाहने?’, उनले भने।

ओलीले संवैधानिक परिषदसम्बन्धी विधेयकलाई लिएर पनि सरकारको आलोचना गरेका छन् । संवैधानिक परिषदसम्बन्धी यस्तो विधेयक ल्याउनुअघि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुका साथै हिजो जानिएनछ भनेर जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्ने उनले बताएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo