KhabarUjyalo

चौतर्फी आलोचनापछि गण्डकी प्रदेशमा आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता गर्‍यो

२७ असार २०७९, सोमबार
चौतर्फी आलोचनापछि गण्डकी प्रदेशमा आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता गर्‍यो

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताका बुबाआमाकाे स्मृतिमा स्थापित कोषलाई छुट्याइएको बजेट चौतर्फी आलोचनापछि फिर्ता हुने भएको छ ।

स्मृति कोष, पार्कलगायतमा छुट्याइएको बजेट आम नागरिकको भावनालाई कदर गर्दै प्रदेशको प्राथमिकता क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन मुख्य मन्त्री  कृष्णचन्द्र नेपाली पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनु भएको हो ।

नागरिकस्तरबाट व्यापक विरोध भएपछि आउँदाे आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजन भएको रकम प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्री पोखरेलले निर्देशन दिनु भएको हो।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा मुख्यमन्त्री पोखरेलका बुबा गोवर्द्धन शर्माको स्मृतिमा तनहुँको व्यास नगरपालिका-१० मा स्थापित कोषलाई ५० लाख रुपैयाँ छुट्याएको थियो ।

यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबाआमाका नाममा खोलिएको पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्टमा ५० लाख रुपैयाँ छुट्याइएको थियो ।

यस्तै, पर्वतको कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुन जोशीका बुबा अमृत जोशीको स्मृति पार्क निर्माणका लागि २० लाख रुपैयाँ र कुश्मा नगरपालिकाका पूर्व उपमेयर सीता काफ्ले लामिछानेका दिवङ्गत पति डिल्लीराम लामिछानेकाे स्मृति प्रतिष्ठान भवन निर्माणका लागि २० लाख रुपैयाँ  छुट्याइएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo