काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मुग्लिन कटाउनुपर्ने टिप्पणी गरेका छन् ।
१२ बुँदे ब्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गर्दा थापाले अमेरिकी सेना आए आफूलाई चारपाटा मोडेर थानकोट कटाइदिए हुन्छ भनेका थिए ।
‘गगन थापालाई हाम्रो लाज ढाक्दिएर आउँछ भन्ने परेको थियो,’ बुधबार राजधानीमा आयोजित पार्टी ध्रुविकरण तथा प्रशिक्षण कार्यक्रममा महासचिव विप्लवले भने, ‘कांग्रेसका मान्छेले बुझ्नुपर्छ मालिक निर्मम हुन्छ । मालिकसँग त लड्नेहरु मात्रै टिक्छन् ।’
अमेरिकाले गगन थापाहरुलाई त धोती न टोपी बनाइदियो भन्दै उनले अघि भने, ‘उन(गगन थापा)लाई थानकोट होइन, अहिले त मुग्लिन कटाउनुपर्थ्यो ।’
एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको भन्दै उनले न्यायाधीशमाथि समेत आक्रोश पोखे । उनले भने, ‘देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’
