KhabarUjyalo

आगामी केही दिन मनसुन थप सक्रिय हुने

१५ असार २०८१, शुक्रबार
आगामी केही दिन मनसुन थप सक्रिय हुने

धनगढीः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय हुने जनाएको छ।

बिहिबार साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ। केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आजदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए। उनका अनुसार मनसुनी वायुको प्रभावले आजदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले आज शुक्रबारदेखि आइतबारसम्म मेघगर्जन÷चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ। सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । महाशाखाले दैनिकरुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन नियमित हेर्न अनुरोध गरेको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo