KhabarUjyalo

पहिलोपटक मन्त्री महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र पुगेपछि…

१४ असार २०७९, मंगलवार
पहिलोपटक मन्त्री महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र पुगेपछि…

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र रहेको स्थल त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुर पुगेर त्यहाँ भइरहेका गतिविधिहरुको अवलोकन गर्नुभएको छ ।

त्यस अवसरमा मन्त्री बडूले पुनले स्थापना गरेको आविष्कार केन्द्रले नेपालमै नवप्रवर्तक युवाहरुलाई समाजको आवश्यकतानुरूप विविध उत्पादन र सेवा क्षेत्रमा आविष्कारको माध्यमबाट उल्लेख्य कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको र यसलाई उद्यमशीलतासँग जोड्दै थप बजार विस्तार गर्न सरकारले पनि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोरोना महामारीको समयमा पिपिई, भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर आविष्कार केन्द्रले नेपाली जनता र सरकारलाई ठूलो सहयोग गरेको र कृषि औजार, औद्योगिक मेसिन, सूचना प्रविधिको क्षेत्रमा गरिरहेको प्रयासले नेपालमा रोजगारी वृद्धि र विकासमा थप टेवा पुग्ने विश्वास मन्त्री बडूले व्यक्त गर्नुभयो ।

उहाँले आगामी आर्थिक वर्षमा आविष्कार केन्द्रसँग मन्त्रालयले सहयोग र सहकार्य गर्ने योजनासमेत बनाइरहेको जानकारी दिनुभयो । उहाँले पुनसहित त्यहाँ आविष्काररत उद्यमीहरुसँग अन्तरक्रियासमेत गर्नुभयो ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पहिलो पटक बहालवाला मन्त्री आफैँ आविष्कार केन्द्रमा आएर हौसला प्रदान गरेकामा धन्यवाद दिँदै सरकारले विकास बजेटको कूल अंशमध्ये एक प्रतिशत रकम आविष्कारको क्षेत्रमा छुट्याएर काम गर्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि ठोस पहल गर्नसमेत मन्त्रीज्यूलाई आग्रह गर्नुभयो ।।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo