काठमाडौ : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कांग्रेस महामन्त्री गगन थापामाथि कडा टिप्पणी गरेका छन्।
‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयमा ललितपुरको जावलाखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले अमेरिकी सेना नेपालमा आयो भने ‘चार पाटा मुडेर निकाल्नु’ भन्नेहरु कहाँ छन्?’ भन्दै प्रश्न गरेका हुन्।
प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुँदा थापाले ‘अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस्’ भनेका थिए।
थापाको त्यही भनाइलाई लक्षित गर्दै खनालले भने,‘एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भन्दा त्यस्तो कहाँ लेखेको छ भनेर भाषण गरे कतिपयले, कतिपयले मलाई चार पाटा मुडेर सहरबाट निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्ने विद्वान कहाँ छन्?’
उनले यो विषय संसदमा पुगेर सोध्न बाँकी रहेको पनि बताए। उनले आफूहरुको सुझबुझका कारण एसपीपी रोकिएको पनि बताए।
‘एसपीपी सम्झौता अहिलेलाई रोकियो,’ खनालले भने, ‘नेपालको पहाडमा अमेरिकी सेना परेड खेल्न रोकिएकोमा हाम्रा नेताहरूलाई धन्यवाद दिन्छु।’
