काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई टाइगर अर्थात् बाघको संज्ञा दिएका छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएर आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री आलेले आफ्नो नौ महिने कार्यकालमा भएका कामबारे जानकारी दिने क्रममा आफूले बाघजस्तै भएर काम गरेको बताए । ‘मैले नौ महिनामा धेरै राम्रा काम गरेको छु, टाइगर अभी तक जिंदा है ।’
कार्यक्रममा बोल्दै मन्त्री आलेले आफूले गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु, बाँकी अधुरा रहेका काम अब आउने मन्त्रीजीले गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’
विमानस्थलहरूको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्ने जस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामबारे मन्त्री आलेले पत्रकारहरूलाई जानकारी गराउनुभएको थियो । उहाँले कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, ‘मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्, कतिपय काम आफूले चाहेर पनि गर्न सकिनँ, ती अधुरा काम अन्य दिनमा हुने छन् ।’
मन्त्री आलेले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै राम्रा तथा जुगौँ जुग स्मरण गर्ने खालका काम भएको दाबीसमेत गर्नुभयो ।
