KhabarUjyalo

रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता

१० असार २०७९, शुक्रबार
रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता

काठमाडौं – नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलसँग भेटवार्ता गरेका छन् ।

उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो ।

दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ ।नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं(१ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

यस्तै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले आज पत्रकार सम्मेलन आयोजना गर्दैछ । उक्त पत्रकार सम्मेलनमा पार्टीमाथि उठेका विभिन्न प्रश्नको जवाफ दिनुको साथै राजनीतिक एन्जेडाबारे पनि रविले प्रष्टाउने छन् ।

पार्टी गठनको घोषणा गर्नुपूर्व रविले विभिन्न पार्टीहरुसँग नेगोसिएसन गरेका थिए । उनको सबैभन्दा सघन संवाद राप्रपासँग भएको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै रविसँग पटक-पटक कुराकानी गरेका थिए ।

राप्रपा राजतन्त्र, हिन्दूराज्य र एकात्मक राज्य प्रणालीको वकालत गरिरहेको पार्टी हो । यो पार्टीसँग नेगोसिएसन गर्नुको मतलब रविको राजनीतिक लाइन पनि यही नै हो कि भन्ने प्रश्न उब्जेको थियो ।

निकट स्रोतका अनुसार रवि राजतन्त्रप्रति सदासय राख्छन् । तर, राजावादी भनेर चिनिन चाहँदैनन् । संघीयताका आलोचक भए पनि संघीयताको विपक्षमा आफूलाई उभ्याउने मुडमा छैनन् । यस्तै धर्मनिरपेक्षतामा पनि प्रश्न उठाउने उनको सोच छैन ।

रविनिकट स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान संविधानको एउटा व्यवस्थामा मात्रै परिवर्तन चाहेको छ । त्यो हो प्रधानमन्त्री र मुख्यमन्त्रीको निर्वाचन पद्धति । प्रधानमन्त्री र मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने वकालत रविले घोषणासभामा नै गरेका थिए । योबाहेक संविधानका सबै विषयवस्तु पार्टीले स्वीकार्ने स्रोतले बतायो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo