KhabarUjyalo

उखानले कमेडि च्याम्पियन चल्छ, देश चल्दैन: डा.आरजु

९ असार २०७९, बिहीबार
उखानले कमेडि च्याम्पियन चल्छ, देश चल्दैन: डा.आरजु

म्याग्दी : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले कांग्रेसले देशको यथार्थ वस्तुस्थिति र विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना बनाउने तर उखान टुक्का सुनाएर जनता हँसाउन नजानेको बताएकी छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम २०७९ को अवसरमा केन्द्रिय सदस्य देउवाले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै यस्तो बताएकी हुन्।

‘उखान टुक्का सुन्न टेलिभिजनमा कमेडी च्याम्पियन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन, उनले भनिन् ‘उखान टुक्का सुनाउँदै हिंड्ने कांग्रेस होईन, कांग्रेस हरेक अप्ठारो परिस्थितीमा देशलाई बचाएको छ।’

यसका लागि कांग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्रसम्म नै जनताको गुनासो र समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने उनको भनाइ थियो।  उनले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको बताउँदै अब पार्टीको आन्तरिक समस्या समाधान र जनताको गुनासो समाधानका लागि विभाग बनाउनुपर्ने बताएकी हुन्।

‘हरेक समयमा देश समस्यामा हुँदा त कांग्रेसको सरकारले समस्या समाधान गरेर जनताको हित गर्दै आएको छ भने आफ्नो आन्तरिक समस्यालाई पनि समाधान गर्न आवश्यक छ,’ उनले भनिन्। कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा हरेक समयमा जनताको साथ दिन आग्रह गर्दै हरेक क्षेत्रमा जनताका समस्या समाधान पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo