KhabarUjyalo

एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने तयारी

२२ जेष्ठ २०७९, आईतवार
एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने तयारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको ६ महिनाभन्दा बढि समय व्यतित गरेकाहरुलाई तत्कालै फिर्ता बोलाउनेगरि एकीकृत समाजवादीले गृहकार्य थालेको छ।

पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने–’हाम्रो पार्टीबाट सरकारमा सहभागी भएकाहरुलाई फिर्ता बोलाउने तयारी भएको छ । सरकारमा ६ महिनाभन्दा बढि समय व्यतित गरेका सबैलाई फिर्ता बोलाउँदैछौं । अहिले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबैको ६ महिनाभन्दा बढि समय भयो, उहाँहरु सबैलाई फिर्ता बोलाउँदैछौं ।’

अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङ छन् ।

उनीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने पार्टीको तयारी रहेको खनालको भनाई छ । बन्दी भने स्वतन्त्रबाट मन्त्री बनेका हुन् । उनी हालै मन्त्री बनेका हुन् । सांसद नरहेका स्वतन्त्र व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक प्रावधान छ ।

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ, मेटमणि चौधरीलगायत नेताहरुलाई मन्त्रीबनाउने तयारी गरेको छ । यस्तै नेकपा एसको आज बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरको विषयले प्रवेश पाएको छ । हिजोदेखि चलिरहेको बैठकअन्तर्गत आज यो विषयले प्रवेश पाएको हो ।

सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको जानकारी दिँदै नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo