काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीय र कानुनी रूपमा गम्भीर अपराध भएको बताएका छन्।
‘छुवाछुतमुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनका लागि अधिकार रहेको बताएका हुन्।
उनले जातीय भेदभाव र छुवाछुतको व्यवहार सभ्य समाजको कलंकका रूपमा रहेको भन्दै प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रता अनुभूति हुनेगरी जिउन पाउनुपर्ने धारणा राखेका छन्।
मानव सृष्टि र सभ्यताको विकासक्रमसँगै प्रारम्भ भएको विभेद, विकृति र विसङ्तिंले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उनको भनाइ छ।
समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बिचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु अपमानजनक कार्य भएको उनले बताएका छन्।
‘कसैले कसैलाई पनि कुनै पनि किसिमको विभेद नगरौँ, सबै किसिमका विभेदको आ–आफ्नो ठाउँबाट प्रतिवाद गरौँ, सन्देशमा उनले भनेका छन्, ‘भेदभाव विरुद्धका सबै कानुनको प्रभावकारी कार्यान्वयन गरौँ। सभ्य र समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रिय अभियानमा सहभागी बनौँ।’

