Khabar Ujyalo

प्रधानमन्त्री संसदमा ‘गायब’ !

३० चैत्र २०७७, सोमबार
प्रधानमन्त्री संसदमा ‘गायब’ !

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित भएका छन्। प्रतिनिधिसभाका पछिल्ला ९ वटा बैठकमा ओली उपस्थित छैनन्। 

सर्वोच्च अदालतले उनैले गरेको प्रतिनिधिसभाको विघटन बदर गरिदिएपछि गत फागुन २३ गते प्रतिनिधिसभाको सातौं अधिवेशन प्रारम्भ भएको थियो। उक्त दिन संसद भवनमा पुगे पनि प्रधानमन्त्री ओली बैठक सुरू हुनुअघि नै बाहिरिएका थिए। त्यसपछि पनि प्रतिनिधिसभाका कुनै पनि बैठकमा उनी गएका छैनन्। बरू उनले संसदीय दलको बैठकमै अधिवेशन अन्त्यको तयारी भइरहेको बताएका थिए। 

यसबीचमा प्रतिनिधिसभाका हरेक कार्यसूचीमा प्रधानमन्त्रीले पेश गर्नुपर्ने प्रतिवेदन पेश भइराखेका छन्।

सोमबार पनि प्रधानमन्त्रीले पेश गर्नुपर्ने राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन कानून मन्त्रीले प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए। 

प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकलाई विजनेशविहीन बनाइरहेको आरोप  लगाएका छन्।

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई विकासको कामको गफ प्रधानमन्त्रीले दिएको उल्लेख गर्दै प्रतिनिधिसभा बैठकमै आउन चुनौती दिएका थिए। 

त्यसो त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि धेरै बैठकमा अनुपस्थित छन्।

उनी पहिलो बैठकमा उपस्थित भएका थिए। सरकारले ल्याएको अध्यादेशविरूद्ध रोष्टममा नाराबाजीका लागि समेत उनी उभिएका थिए।

नेकपा माओवादी केन्द्रको दलका नेता पुष्पकमल दाहाल प्रचण्ड दुई नेताको तुलनामा धेरै बैठकमा सहभागी छन्। 

संसद ब्युँतिएको एक महिना बित्दा समेत कुनै पनि विधेयकले कानूनी हैसियत पाएको छैन। बैठक पासमात्र गरे पनि कानून बन्न सक्ने विधेयकमा समेत सरकारले चासो दिइरहेको छैन। 

बरू सत्तारूढ नेकपा एमालेले पछिल्लो समय प्रतिनिधिसभा अन्तर्गतका समितिमा ध्यान केन्द्रित गरेको छ। उसले समितिमा सांसदहरू हेरफेर गरेको छ।

प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र गोकुल बाँस्कोटालाई लेखा समितिमा पठाएका छन् भने अर्का विश्वास पात्र महेश बस्नेतलाई राज्य व्यवस्था समितिमा पठाएका छन्। तर प्रधानमन्त्री ओली भने प्रतिनिधि सभाको तीन वर्षको कार्यकाल बितिसक्दा समेत कुनै पनि समितिको बैठकमा उपस्थित भएका छैनन्। 

प्रधानमन्त्री ओलीले संसद बैठक सञ्चालनका लागि सभामुखले परामर्श गर्ने समितिमा समेत आफ्ना विश्वासप्राप्त सांसदलाई राखेका छन्।

समितिमा खगराज अधिकारी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेल परेका छन्। पोखरेलले केही समयअघि मात्र माधव नेपाल क्याम्प छाडेर ओली क्याम्प रोजेका थिए। सेतोपाटीबाट

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.