स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ।
कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो।
मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषदसमक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए।
अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उनले बताए।
उनले भने,‘अहिले जुन भीडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भीडभाड पूरै बन्द गर्नुपर्छ। एकदमै जनस्वास्थ्यका मापदण्ड अपनाएर २५ जनाभन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ। त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउन सक्छ। जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला भेला सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौं। यो किन भनेको हो भन्ने कुरा पनि म भन्न चाहन्छु। अहिले छिटपुट रूपमा कोभिड-१९ का केस गएको महिनाको भन्दा बढेर गयो। अस्पतालमा आइसियुमा बिरामीहरू धेरै नै भर्ना भइसकेका छन्। त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो। अब बढ्न थाल्यो। अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण एकदम बढेर जान्छ।’
प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए। त्यसका लागि भीडभाड नगर्ने, दूरी काय गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरून्त जाँच गराउनुपर्ने बताए।
यस्तै, भीडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएरमात्रै सञ्चालन गर्न दिनुपर्ने पनि उनले बताए।