Khabar Ujyalo

उत्पादित जुनारले बजार नपाएपछि डडेल्धुराका किसान जुनार बोकेर काठमाडौंमा

२० चैत्र २०७७, शुक्रबार
उत्पादित जुनारले बजार नपाएपछि डडेल्धुराका किसान जुनार बोकेर काठमाडौंमा

काठमाडौँ : किसानले उत्पादन गरेका जुनारले बजार नपाएपछि डडेल्धुराका किसान जुनार बोकेरै काठमाडौं आएका छन् । उत्पादनले बजार र मूल्य नपाएको भन्दै काठमाडौं आइपुगेका उनीहरूले बिहीबार कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालसँग भेट गरे ।

कृषिमन्त्री पद्माकुमारी अर्याललाई बिहीबार जुनार दिँदै डडेल्धुराका किसान ।

त्यस क्रममा उनीहरूले किसानले उत्पादन गरेको जुनार बजारीकरण गरिदिन आग्रह गरेको किसान अन्तराज जोशीले बताए । ‘किसानले उत्पादन गरिरहेका छन्, तर मुख्य समस्या बजारीकरणकै भयो,’ उनले भने, ‘काठमाडौं आइपुग्न दुई दिन लाग्यो । किसान आफैंले काठमाडौं ल्याएर बिक्री गर्न सक्दैनन् । सहजीकरण गरिदिन आग्रह गरेका छौं ।’

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ चुल्ल–सिराडबाट उनीहरूले करिब १३ सय किलो जुनार ल्याएका छन् । त्यहाँ किसानले चुल्लका सिद्धनाथ नागार्जुन बहुउद्देश्यीय किसान समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन् । किसान समूहको अगुवाइमा काठमाडौं आएका जोशीले डडेलधुरामा किसानले किलोको ४० रुपैयाँमा जुनार बिक्री गरिरहेको जानकारी दिए । ‘व्यापारीहरू बारीमै आएर ठेक्का गर्छन् । त्यहाँ जुनारको रेट ४० रुपैयाँ चलेको छ,’ उनले भने, ‘किसानले प्रत्यक्ष रूपमा बिक्री गर्न नपाउँदा मूल्य पाएका छैनन् ।’

भेटका क्रममा मन्त्री अर्यालले डडेलधुराको जुनार उत्पादन बढाउन आगामी वर्ष कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता जनाइन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा डडेलधुराका किसानले गरेका उत्पादन बिक्रीवितरण गर्न पनि सहजीकरण गरिने उनको भनाइ छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.