काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले मतदाताको घरघरमा गएर भोट माग्न सिर्जना सिंहलाई सुझाव दिएकी छन् ।
काठमाडौं महानगरको मेयर पदमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिंहलाई मतदाताको घरदैलोमा गएर भोट माग्न सुझाव दिएकी हुन् ।
चाक्सीबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा देउवाले अनावश्यक भेला र जुलुसमा नहिँड्न आग्रह गर्दै मतदाताको दैलोसम्म पुग्न सुझाव दिएकी हुन् । उनले आफूलाई साथी र सहयोगीहरुले सभामै अल्मल्याएर राख्दा हारेको स्मरण गर्दै घरघरमा पुग्न सुझाव दिएकी हुन् ।
‘साथीहरुले माया गर्ने, सभामा जाने तर भोटरकहाँ नजाने गर्दा म फसेँ । अब यस्ता सभाभन्दा घर घरमा गएर मतदाता भेटौँ’, उनले भनिन्, ‘मलाई त साथीहरुले घेरेर राखे, भोटरकहाँ पुग्न नसक्दा समस्या भयो। तर यहाँ घर घरमा पुगौँ ।’
साथै डा. देउवाले महिला भएकै कारणले कसैले पनि कमजोर नसोच्न चेतावनी दिइन् । उनले कसैको श्रीमती भनेर अन्डर स्टिमेट नगर्न विपक्षीलाई चेतावनीसमेत दिइन् ।
तपाईंले टिकट पाउँदा म एकदमै खुसी छु । यो महानगर अरु निर्वाचन क्षेत्रभन्दा पनि ठूलो हो । काठमाडौँमा कतिवटा निर्वाचन क्षेत्र छन् मलाई थाहा छैन । तर, गणेशमान सिंह, मंगला आमा जस्ता नेता भएको परिवारकी तपाईंले कुशलतापूर्वक घर चलाउनु भयो । एकजना जेठाजु र तीनजना आमाजूलाई पनि चलाएर धानेर अघि बढेको मान्छे हो तपाईं । घर चलाउन एकदमै गाह्रो छ,’ उनले भनिन्, ‘सिर्जनाले महानगर हाँक्छिन् भन्ने मलाई सय होइन, हजार प्रतिशत विश्वास छ । सिर्जनाले राजनीति छाडेको होइन । राजनीतिमै हुनुहुन्छ । हामी महिलालाई कमजोर नठान्नु, पद नलिएको मात्रै हो । महिला हो, फलानोको श्रीमती हो भनेर कसैले अन्डर स्टिमेट नगरुन् ।’

