काठमाडौं । वर्तमान सरकारलाई परमादेश सरकार भन्दै आएको नेकपा एमालेलाई ‘सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी’को रुपमा व्याख्या गर्दै कांग्रेसले एमालेको वैधानिक हैसियत खोजेको छ ।
स्थानीय तह निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा कांग्रेसले एमालेलाई सर्वोच्च अदालतले जन्माएको पार्टी भन्दै वैधानिकता खोजेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बारम्बार सर्वोच्च अदालतको आदेशलाई अवमूल्यन गर्दै आएको आरोप लागएको कांग्रेसले एमाले र नेकपा माओवादी केन्द्रलाई सर्वोच्च अदालतले जन्माएको पार्टी भन्दै यी पार्टीको वैधानिक हैसियतमा प्रश्न गरेको हो ।
वर्तमान सरकार गठनका लागि एमाले उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत गएको स्मरण गर्दै कांग्रेसले परमादेश सरकारको रुपमा लाग्दै आएको आरोप खण्डन गरेको छ ।
घोषणापत्रमार्फत सर्वोच्चले जन्माएको पार्टी भन्दै एमाले पार्टीको वैधानिकतामा प्रश्न गरेको कांग्रेसले भनेको छ–
‘सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले) को वैधानिक हैसियत माथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ? यदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन ।’

