KhabarUjyalo

देउवाको गृहजिल्लामा गठबन्धनविरुद्ध सबै पालिका र वडामा कांग्रेसकै ‘बागी’ उम्मेदवारीको तयारी !

२९ चैत्र २०७८, मंगलवार
देउवाको गृहजिल्लामा गठबन्धनविरुद्ध सबै पालिका र वडामा कांग्रेसकै ‘बागी’ उम्मेदवारीको तयारी !

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको असन्तुष्ट समूहले स्थानीय निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको छ।

कांग्रेसको निवर्तमान जिल्ला सभापति कर्ण मल्लको समूहले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको हो।

कांग्रेसको असन्तुष्ट समूहले डडेल्धुराका दुई नगरपालिका र ५ गाउँपालिकामा कांग्रेसविरुद्ध ‘बागी’ का रुपमा ‘सेट’ नै तयार गरिरहेको छ।

मल्ल समूहले अमरगढी नगरपालिकामा हरि भट्ट र परशुराम नगरपालिकामा डम्बरसिंह विष्टको नेतृत्वमा ‘बागी’ उम्मेदवारी दिने भएको छ। भट्ट १३ औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि र विष्ट पूर्वजिल्ला सदस्य हुन्।

यस्तै गन्यापधुरा गाउँपालिकामा सुरेन्द्र मालीको नेतृत्वमा बागी उम्मेदवारी दिने तयारी रहेका छन् । माली निवर्तमान जिल्ला सदस्य तथा भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष हुन्। नवदुर्गा गाउँपालिकामा निवर्तमान जिल्ला सदस्य गोकुल शाही र भागेश्वर गाउँपालिकामा लोकराज भट्टको नेतृत्वमा मल्ल समूहले ‘बागी’ उम्मेदवारीको तयारी गरेको छ।

शाही पार्टीका निवर्तमान जिल्ला सदस्य हुन् भने भट्ट जिल्ला सचिवको हैसियतमा काम गरिसकेका नेता हुन्।

अजयमेरु गाउँपालिकामा नरबहादुर ठकुराठी, लोकराज भट्ट र कमला विष्टमध्ये कुनै एकको नेतृत्वमा विद्रोह गरिने असन्तुष्ट समूहले बताएको छ।

ठकुराठी अजयमेरु कांग्रेसका निवर्तमान सभापति, भट्ट त्रिभुवन विश्वविद्यालय नेविसंघका पूर्वअध्यक्ष र बिष्ट नेपाल महिला संघकी निवर्तमान जिल्ला अध्यक्ष हुन्।

आलिताल गाउँपालिकामा धनबहादुर देउवा र तेजबहादुर खड्कामध्ये कुनै एकको नेतृत्वमा आफ्नो समूहले ‘बागी’ उम्मेदवारहरू उठाउने मल्ल समूहका एक नेताले जानकारी दिए।

माग सम्बोधन नहुने देखिएपछि उनीहरुले वैकल्पिक बाटो अपनाएर असुन्तुष्ट पक्षले डडेल्धुराका सात पालिका र ५२ वडामा सत्ता गठबन्धनविरुद्ध प्रमुख–उपप्रमुख गरी १४ र ५२ वडामा ५–५ सदस्य गरेर २६० उम्मेदवार बागी नै उठाउने तयारी गरिदै छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo