बझाङ,२८ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनाव सार्न खोजेको आरोप लगाएका छन् ।
बझाङमा सोमबार आयोजित चुनावलक्षित सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘सरकारले फेरि चुनाव सार्न खोज्दैछ। देशलाई प्रतिगमनमा लैजान खोजेको छ।’ उनले भने ‘सरकार नातागोता नियुक्त गर्न लागेको छ। चुनाव बिथोल्ने र भाँड्ने अभियानमा सरकार छ’
‘यो गठबन्धन सरकार प्रतिगामीहरुको हो। अहिलेका प्रधानमन्त्री जहिले जहिले सरकारमा जान्छन् प्रतिगामी कदम चाल्छन्’, उनले भने, ‘वैशाख ३० गतेको स्थानीय तह निर्वाचन निर्वाध ढंगले होस् भनेर सहेका छौँ। एमालेले चाह्यो भने चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फ्याँकिदिन्छ। चुनाव सार्ने बहाना पाउँछन् भनेर हामी चुप लागेर बसेका छौँ।’
ओलीले गठबन्धन सरकार विकासको काम गर्नुभन्दा आफ्ना नातागोता नियुक्तिमै रमाइरहेको बताएका छन्।

