नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहपालिका गन्यापधुरा गाउँपालिकामा चुनावी तालमेलका लागि असहमति जनाएका छन् ।
‘स्थानीय अवस्था र आवश्यकताअनुरुप तालमेल गर्न सक्ने’ भन्दै गरेको नीतिगत निर्णयमा टेकेर शीर्ष तहका नेताहरुकै गृहजिल्लामा वडा र पालिकास्तरीय कार्यसममितिहरु तालमेल आवश्यक नरहेको अडानमा छन्।
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा स्थानीय कार्य समितिले चुनावी तालमेल अस्वीकार गरेका छन्।
गन्यापधुरा गाउँपालिका– २ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको निर्णय गरेर गाउँपालिका कार्यसमितिलाई पत्र पठाएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा ती दुवै वडामा कांग्रेस विजयी भएको थियो।
तालमेलबिना जित्न सकिने भन्दै दुवै वडाले निर्णयसहित सिफारिस पत्र पठाएको कांग्रेस गन्यापधुराका सभापति इन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार १, ४ र ५ का वडा कार्यसमितिले तालमेलबारे निर्णय गरिसकेका छैनन्।
२०७४ को स्थानीय निर्वाचनमा वडा नम्बर १ मा कांग्रेस, ४ मा नेकपा माओवादी केन्द्र र ५ मा नेकपा एमाले विजयी भएका थिए। तालमेलबारे निर्णय नगरेको वडा नम्बर १ मा प्रधानमन्त्री देउवाको मतदाता नामावली छ।
गाउँपालिका कार्यसमिति सभापति कार्कीले गन्यापधुरामा चुनावी तालमेल आवश्यक नरहेको आशय व्यक्त गर्दै वडा कार्यसमितिको सिफारिस माथिल्लो तहलाई जस्ताको त्यस्तै पठाउने बताएका छन्।
स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ केन्द्रीय कार्यसमिति बैठकले भनेको थियो।

