KhabarUjyalo

देउवाको गृहजिल्लामा माओवादीको झन्डै ५० प्रतिशत स्थानीय तहमा दाबी, नदिए एक्लै लड्ने

२२ चैत्र २०७८, मंगलवार
देउवाको गृहजिल्लामा माओवादीको झन्डै ५० प्रतिशत स्थानीय तहमा दाबी, नदिए एक्लै लड्ने

काठमाडौं । सत्ता गठबन्धनको एक दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुुर देउवाको गृहजिल्ला डडेलधुरामा झन्डै ५० प्रतिशत स्थानीय तहमा आफ्नो दाबी गरेको छ । दुई नगरपालिकासहित सात स्थानीय तह रहेको डडेलधुरामा माओवादी केन्द्रले तीन स्थानीय तहमा आफ्नो दाबी गरेको हो ।

नेपाली कांग्रेसका सभापति देउवाको जिल्लामा ०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी अजयमेरु गाउँपालिकामा मात्रै विजयी भएको थियो । त्यसबाहेक परशुराम नगरपालिकामा ५८४ र आलिताल गाँउपालिकामा ५०० भन्दा कम मतान्तरले माओवादी उमेदवार पराजित भएका थिए ।

आफूहरू थोरै मतान्तरले हारेकाले तीन स्थानीय तहमा दाबी गरेको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले बताए ।

डडेलधुरामा ५२ वडा छन् । ०७४ सालको निर्वाचनमा कांग्रेसले १७, माओवादी केन्द्रले १६ र नेकपा (एमाले)ले १९ वडाध्यक्ष जितेको थियो ।

डडेलधुरामा पछिल्लो तीनवटै संसदीय निर्वाचनमा देउवासँग माओवादी नेता खगराज भट्ट नै प्रतिद्वन्द्वी बनेका थिए ।

केन्द्रमा सत्तारूढ दलहरूबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको छ । सोही सहमतिपछि माओवादी केन्द्रले प्रधानमन्त्रीकै गृहजिल्लामा तीनवटा स्थानीय तह मागेको हो ।

नेता भट्टले भने, “प्रधानमन्त्रीकै गृहजिल्लाबाट गठबन्धनबाट सम्मानजनक सहकार्य हुने हामीले अपेक्षा गरेका छौँ । तर, तल्लो तहमा विश्वासको संकट देखिन्छ । यसलाई हल गर्दै जानुपर्छ । मिलेर जानुपर्छ भन्नेमा हामी पनि छौँ । तर, गठबन्धनका नाममा एकदमै पेल्न खोजियो भने डडेलधुरामा हामी एक्लै लड्ने सामर्थ्य राख्छौँ ।”

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo