KhabarUjyalo

स्थानीय तहको मतपत्रमा : ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

२१ चैत्र २०७८, सोमबार
स्थानीय तहको मतपत्रमा : ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

काठमाडौं, चैत २१। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ ।

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो ।

सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ ।

सो कानुनअनुसार मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न सूर्य पहिलो, कांग्रेसको ‘रुख’ दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोपाका)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने भएको हो । यी ६ दल राष्ट्रिय मान्यता प्राप्त हुन् ।

यसैगरी, सातौं नम्बरमा विवेकशील साझा पार्टीको चिह्न तराजु, आठौंमा राप्रपाको हलो, नवौंमा जनमोर्चाको गिलास र १०औं नम्बरमा नेपाल मजदुर किसान पार्टीको चिह्न मादल रहने आयोगले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo