KhabarUjyalo

देश चलाउन भिजन चाहिन्छ : नैनसिंह महर

१९ चैत्र २०७८, शनिबार
देश चलाउन भिजन चाहिन्छ : नैनसिंह महर

काठमाडौं- एमाले सिद्धान्त मुलुकमा पूर्ण असफल भइसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ। नेपाली कांग्रेस काठमाडौं-काभ्रे सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता महरले एमाले उदेश्य र गतिहीन पार्टी भएको आरोप लगाए।

‘जोक भनेर देश चल्दैन। देश चलाउन भिजन चाहिन्छ। दुई तिहाइको सरकार टिकाउन नसकेको एमालेसँग आगामी निर्वाचनमा जान कुनै एजेन्डा नै छैन,’ नेता महरले भने, ‘योजना नै नभएपछि एमाले अरुलाई सराप्दै हिडिरहेको छ।’ ओली प्रवृतिका कारण एमाले असफल सिद्ध भएको महरले बताए।

बाम एकता टिकाउन नसकेका ओलीले आफ्ना पुराना सहयात्री माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि सरापी रहेको आरोप लगाए। ‘पार्टीमा असन्तुष्टि हुन्छ। नेतृत्वले असन्तुष्ट पक्षको भावना समेट्न सक्नुपर्थ्यो। तर, ओलीले दुई तिहाइको सरकार ढाले। बाम एमाता ढाले। संसद् विघटन गरे,’ महरले भने।

ओली नेतृत्वको सरकार हुँदा नेपालमा जनताले सहज रुपमा कोरोनाविरुद्धको खोप पाउने अवस्थासमेत नरहेको उनले बताए। शेरबहादुर देउवा नेतृत्वको सरकार आइसकेपछि जनताले खोप अभाव भयो भनेर गुनासो गर्न नपरेको उनले बताए।

‘ओली जीले कोरोना महामारीमा खोप जस्तो सम्बेदनशील कुरामा समेत भ्रष्टाचार गर्नुभयो। केही भन्त्रीका करोडौंको बार्गेनिङ गरेका अडियो सार्वजनिक भए। यी सबै कुराले एमाले आत्तिएको छ। उनले भोट माग्ने अधिकार गुमाइसकेको छ,’ नेता महरले भने।

जनता स्थानीय तहको निर्वाचन कुरेर बसेका र एमालेको उग्र रुपलाई निर्वाचनमा ठेगाना लगाइदिने महरले बताए। ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानका क्रममा पनि आफूले कांग्रेस प्रतिको जनताको विश्वासलाई धेरै नजिकबाट महशुस गरेको उनले बताए।

अप्ठ्यारो पर्दा देशलाई कांग्रस नै चाहिने भएकाले कांग्रेसलाई नै दुई तिहाइ दिएर मुलुकमा विकास गर्न दिनुपर्छ भन्ने जनताले बुझिसकेको उनले बताए। उनले सबै नेता कार्यकर्ताहरूलाई जनताको मनमा बस्ने गरी काम गर्न निर्देशनसमेत दिएका छन्।

कांग्रेसलाई चौतर्फी घेराबन्दी गर्न खोजेको अवस्थामा जनता नै न्यायमूर्ति भएकाले जनताको मनमा बस्ने गरी काम गर्नूपर्ने महरले बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, काभ्रे जिल्ला सभापति तीर्थ लामालगायतले आफ्नो विचार राखेका थिए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo