Khabar Ujyalo

धनगढीका वरिष्ठ समाजसेवी तथा दानवीर भण्डारीको निधन

१९ फाल्गुन २०७७, बुधबार
धनगढीका वरिष्ठ समाजसेवी तथा दानवीर भण्डारीको निधन

धनगढीः धनगढीका वरिष्ठ समाजसेवी तथा दानवीर बद्रीनाथ भण्डारीको निधन भएको छ।

धनगढी उप–महानगरपालिकाको उत्तरबेहडीमा बस्दै आएका भण्डारीको ९६ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो।

जन्म वि.स १९८३ मा डोटीको निरौलीमा जन्मिएका भण्डारी केही महिनादेखि अस्वस्थ  थिए। उनी क्यान्सर रोगसँग संघर्ष गरिरहेका थिए। उनले मृत्युु पश्चात नेत्रदान गरेका छन् ।

भण्डारी कैलाली जनपुस्तकालय, सुदूरपश्चिमाञ्चल साहित्य समाजका सल्लाहकार, बद्रीनाथ सिकाइ केन्द्रका अध्यक्ष पनि थिए। 

वि.स. २०१९ मा डोटीको निरौलीबाट कैलालीको उर्मामा बसाइ सरेका भण्डारीको व्यक्तित्व बहुआयामिक रहेको थियो। तराईमा बसाइ सर्नु पूर्व उनले डोटीमा ३ वर्ष  शिक्षण पेशा गरेका थिए। 

भण्डारी उर्मा बसाइको क्रमसँगै वि.स. २०२२ सालमा पहिलो पटक उर्मा गाउँ पञ्चायतको प्रधानपञ्च भए्का थिए। ३ कार्यकाल प्रधानपञ्चको निर्वाचन जितेका भण्डारीले पञ्चायती राजनीतिपछि भने भण्डारी वि.स. २०२५ सालमा धनगढी बसाइ सरेका थिए। 

जमिनदारी र सानोतिनो उद्यमशीलताबाट आफूले पुग्दो धन आर्जन गरेको भण्डारी बताउने गरेका थिए। 

छोराछोरीलाई हुर्काइ सकेपछि आफूसँग भएको धनले समाज सेवा गर्नु पर्छ भन्ने विचार पलाएको बताउने भण्डारीले दर्जनौँ धार्मिक संघ संस्थालाई सहयोग समेत गरेका थिए। 

उनले कुसल लेखक र कविको रुपमा पहिचान पनि आफ्नो पहिचान बनाएका थिए। भण्डारीको ‘उज्यालो चन्द्रमा’ नामको कृषि प्रकाशित छ भने साहित्यमा सुदूरपश्चिमकै ठूलो धनराशिको पुरस्कार मानिने ‘वद्रीकृष्ण वाङमय पुरस्कार’ समेत स्थापना गरेका छन्। आफ्नो र आफ्नी पत्नीको नाममा उनले ११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। 

सो अक्षयकोषमार्फत सुदूरपश्चिम साहित्य समाज कैलालीले प्रत्येक वर्ष नेपाली साहित्यमा योगदान पुर्याउने स्रष्ठालाई सम्मान गर्दै आएको छ।

भण्डारीको शव यात्रा बुधबार बिहान साढे १० बजे शिवगंगा आर्यघाटका लागि सुरु हुने बताइएको छ। 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.