KhabarUjyalo

५२ वर्षको उमेरमा कक्षा ८ को परीक्षा दिंदै शन्त बहादुर

२ चैत्र २०८०, शुक्रबार
५२ वर्षको उमेरमा कक्षा ८ को परीक्षा दिंदै शन्त बहादुर

मकवानपुर- इच्छाशक्ति भए पढ्नका लागि उमेर बाधक बन्दैन भन्ने प्रमाणित गर्नुभएको छ मकवानपुरको थाहा नगरपालिकादेका शन्त बहादुर गुरुङले । ५२ वर्षको उमेरमा उहाँले कक्षा ८ को नगरस्तरीय वार्षिक परिक्षा दिइरहनुभएको छ ।

वडा नम्बर १ स्थित झम्केश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत गुरुङले पालुङ क्याम्पस केन्द्रबाट परीक्षा दिइरहनुभएको हो । थाहा नगरपालिका वडा नम्बर ५ घर भएका गुरुङले पहिलो दिनको अंग्रेजी विषयको परीक्षा राम्रो भएको बताउनुभयो ।

“नेपाली सजिलो लाग्छ, विज्ञान र गणित अलि गाहे छ । तर, पास हुने गरि मेहनत गरिरहेको छु”। बसन्त प्राविबाट कक्षा ५ पास गरेपछि गुरुङले कक्षा ६, ७ र ८ थाहा नगरकै जनकल्याण माविमा अध्ययन गर्नुभएको थियो ।

३८ वर्ष अघि कक्षा ८ को वार्षिक परीक्षामा साथीमार्फत् आफू फेल भएको थाहा पाएपछि गुरुङले पढाई बिचैमा छाड्नुभयो । विद्यालय जाँदा आउँदा २-२ घण्टा हिँडेर पढ्दा समेत परीक्षामा फेल भएपछि उहाँलाई त्यतिबेला पढ्ने रहर सेलायो ।

सानैदेखि सामाजिक सेवामा रुचि राख्ने गुरुङले विभिन्न उपभोक्ता समितिको अध्यक्ष भएर काम गरिसक्नु भएको छ । आफैले अक्षर चिनेको बसन्त प्रावि व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष भएर जिम्मेवारी पूरा गर्नुभएका गुरुङले गाउँको सडक निर्माण समिति, झोलुङ्गे पुल निर्माण समिति, सामुदायिक वन लगायत थुप्रै समितिहरुको अध्यक्ष भएर काम गर्नुभएको छ ।

हाल सिरानघर डाँडागाउँ खड्का टोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष रहनुभएका गुरुङ शिक्षाकै कारण सामाजिक कार्यबाट विमुख हुन नपरोस् भनेर लामो समयपछि पढाईलाई निरन्तरता दिएको बताउनुहुन्छ । “जसरी पनि एसईई पास गर्ने धोको छ” ।

२ जना सन्तानका बुबा गुरुङको जेठो छोरा स्नाकोत्तर अध्ययनरत हुनुहुन्छ भने कान्छो छोरा स्नाकोत्तर अध्ययनको तयारीमा हुनुहुन्छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo