KhabarUjyalo

म्यान्मारमा प्रदर्शनमा सेनाले गोली चलाउँदा ११४ प्रदर्शनकारी मारिए

१५ चैत्र २०७७, आईतवार
म्यान्मारमा प्रदर्शनमा सेनाले गोली चलाउँदा ११४ प्रदर्शनकारी मारिए

काठमाडौँ । म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध सर्वसाधारणले गरेको प्रदर्शनमा सेनाले गोली चलाउँदा कम्तीमा ११४ प्रदर्शनकारी मारिएका छन् ।

स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार मारिने ११४ जनामा १३ वर्षीया किशोरीसहित २० भन्दा बढी बालबालिका छन् ।

सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएकै दिन सुरक्षाकर्मीको गोली लागी ११४ सर्वसाधारण मारिएका हुन् ।

पछिल्लो घटनासँगै म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि मारिने सर्वसाधारणको संख्या ४०० नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जुन्ता शासकले राजधानी नेइपिडअमा ७६औँ सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए । त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले शहरमा सुरक्षाकर्मीले दमन गरेको हो ।

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि लोकतन्त्र पक्षधरहरू आन्दोलित भइरहेका छन् । उनीहरूले देशका प्रमुख शहरहरूमा दैनिक प्रदर्शन चर्काउँदै लगेका छन् ।

सेनाले सत्ता हातमा लिएसँगै लोकतन्त्रवादी नेत्री तथा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) प्रमुख आङ सान सुचीलाई नियन्त्रणमा राखेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo