KhabarUjyalo

जनता स्थानीय सरकारसँग सन्तुष्ट, प्रदेश–केन्द्रसँग असन्तुष्ट

१३ चैत्र २०७७, शुक्रबार
जनता स्थानीय सरकारसँग सन्तुष्ट, प्रदेश–केन्द्रसँग असन्तुष्ट

तीन तहका सरकारमध्ये आमनागरिक सबैभन्दा बेसी स्थानीय सरकारसँग सन्तुष्ट रहेको अध्ययनले देखाएको छ । ‘सेयरकास्ट इनिसियटिभ नेपाल’ले गरेको अध्ययनअनुसार केन्द्र सरकारसँग भने आमनागरिकमा सबैभन्दा बेसी असन्तुष्टि छ । गत फागुन ९ देखि २३ गतेको बीचमा गरिएको अध्ययनमा सहभागीमध्ये आधाले आफू बस्ने पालिकाको कामप्रति सन्तुष्ट रहेको जवाफ दिएका छन् । सहभागी पाँच हजार ८२ जनामध्ये ५० प्रतिशत उत्तरदाताले स्थानीय तहका कामप्रति सन्तुष्ट रहेको जवाफ दिए । २७.४ प्रतिशतले सन्तुष्टि/असन्तुष्टि केही पनि नरहेको बताएका छन् भने २१.२ प्रतिशत असन्तुष्ट छन् । सहभागीमध्ये १.३ प्रतिशतले भने यस विषयमा आफूलाई कुनै जानकारी नै नभएको र भन्न पनि नचाहेको बताएका छन् ।

स्थानीय तहको कामप्रति लुम्बिनी प्रदेशका बासिन्दा सबैभन्दा बेसी सन्तुष्ट छन् । लुम्बिनी प्रदेशका ५९.८ प्रतिशत, प्रदेश १ का ५१.३ प्रतिशत, बागमती प्रदेशका ५१.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशका ५०.६ प्रतिशत, गण्डकी प्रदेशका ४९.६ प्रतिशत, प्रदेश २ का ४२.३ प्रतिशत र कर्णालीका सबैभन्दा कम ३९.९ प्रतिशत उत्तरदाता स्थानीय तहको कामप्रति सन्तुष्ट देखिएका छन् । स्थानीय तहका कामप्रति सबैभन्दा बढी सन्तुष्ट रहेको संख्यामा असन्तुष्ट हुने नागरिकको संख्या कम छ भने सबैभन्दा कम सन्तुष्ट हुने प्रदेशमा असन्तुष्ट हुनेको संख्या धेरै छ । कम उमेर समूहका नागरिक स्थानीय तहले गरेका कामसँग धेरै सन्तुष्ट देखिन्छन् भने बढी उमेरसमूहका नागरिक असन्तुष्ट छन् । तथ्यांकमा २५ देखि ३४ वर्ष उमेरसमूहका सहभागी स्थानीय तहका कामप्रति सन्तुष्ट छन्, ६० वर्षभन्दा माथिका नागरिक सबैभन्दा बढी असन्तुष्ट छन् । 

स्थानीय तहको तुलनामा संघीय सरकारका कामप्रति सन्तुष्ट हुनेको संख्या भने ठीक विपरीत छ । केन्द्रले गरेको कामप्रति सन्तुष्ट हुनेको संख्या ३०.५ प्रतिशत छ भने असन्तुष्ट २६.९ प्रतिशत छन् । सन्तुष्ट पनि नहुने र असन्तुष्ट पनि नहुनेको संख्या ३१.७ प्रतिशत छ । केन्द्र सरकारका कामबारे थाहा नै नभएका वा भन्न नचाहनेको संख्या १०.८ प्रतिशत छ ।

तथ्यांकमा सबैभन्दा रोचक के छ भने केन्द्र सरकारको कामबाट सबैभन्दा बढी सन्तुष्ट हुनेमा निरक्षरहरू छन् । यो सर्वेक्षणमा सहभागी निरक्षर उत्तरदातामध्ये ३७ प्रतिशतले केन्द्र सरकारको कामप्रति सन्तुष्ट रहेको जवाफ दिएका छन् । २५.७ प्रतिशत साक्षरले केन्द्रको कामप्रति सन्तुष्टि जनाएका छन् । यस्तै, ५ कक्षासम्म पढेका ३०.९ प्रतिशत, १० कक्षासम्म पढेका ३३.१ प्रतिशत, एसइईसम्म पढेका ३२ प्रतिशत सहभागीले सरकारको काममा सन्तुष्ट रहेको बताएका छन् । १२ कक्षासम्म पढेका र त्योभन्दा माथि पढेकाले सरकारको काममा सबैभन्दा कम सन्तुष्टि व्यक्त गरेका छन् । अर्थात्, १२ कक्षासम्म अध्ययन गरेका २६.४ प्रतिशतले मात्रै केन्द्र सरकारको कामप्रति सन्तुष्ट रहेको जवाफ दिएका छन् । स्नातक वा त्योभन्दा माथि पढेका २७.८ प्रतिशतले सरकारको काममा सन्तुष्ट रहेको बताएका छन् । जतिजति अध्ययनको स्तर माथि हुन्छ, त्यति सरकारको कामप्रति असन्तुष्ट हुने संख्या पनि बढ्दै गएको अध्ययनमा देखिएको छ । स्नातक वा सोभन्दा माथि अध्ययन गरेकाहरू सरकारको कामप्रति सबैभन्दा बढी असन्तुष्ट देखिएका छन् । नयाँ पत्रीकाबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo