KhabarUjyalo

माइतीघरमा प्रदर्शनकारीलाई डण्डा बर्साउन आदेश दिने गृहमन्त्री आज आफै माइतीघरमा !

१२ चैत्र २०७७, बिहीबार
माइतीघरमा प्रदर्शनकारीलाई डण्डा बर्साउन आदेश दिने गृहमन्त्री आज आफै माइतीघरमा !

घामले तातेको सडकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पलेँटी कसेर बसेका छन्। उनका वरिपरि सुरक्षाकर्मी छन्। उनको हातमा एउटा माइक छ। यो दृश्य बिहीबार दिउँसो काठमाडौंको माइतीघर मण्डलमा देखिएको हो।

बादल तिनै गृहमन्त्री हुन् जसले मन्त्री भएको महिना दिन नबित्दै २०७४ चैतमा माइतीघर मण्डलमा प्रदर्शन गर्न रोक लगाएका थिए।

गृह मन्त्रालयले २०७४ चैतमा देशैभरि विरोध प्रदर्शन गर्ने निश्चित ठाउँ तोकेको थियो।

जसअनुसार जिल्ला सुरक्षा समिति काठमाडौंले माइतीघर मण्डलमा प्रदर्शन रोक लगाउँदै निश्चित ठाउँ तोकेको थियो। समितिको चैत ३० मा वैशाख १६ गतेपछि माइतीघर मण्डलमा प्रदर्शन गर्न नपाइने निर्णय गरेको थियो।

त्यसबेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै खुलामञ्च, तीनकुने चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेल मैदान, सानो गौचरण, लैनचौर, सिफल चौर र गौशालामा मात्रै प्रदर्शन गर्न पाइने भनेको थियो।

जहाँ पायो त्यहीँ प्रदर्शन र विरोध सभा गर्दा सार्वजनिक सवारी आवतजावतमा समस्या पर्ने कारण देखाइएको थियो। साथै प्रदर्शनकारीले माइतीघर मण्डल फोहोर पार्ने गरेको आरोप लगाउँदै प्रदर्शन गर्न नदिइने भनिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७५ वैशाख २ मा सूचना निकालेर सार्वजनिक कार्यक्रम र प्रदर्शन स्थल तोक्दै माइतीघर मण्डलमा विरोध गर्न नपाइने भनेको थियो। दलहरूले विरोध गरेपछि पुन: सूचना निकालेर प्रशासन कार्यालयले असार १ देखि यो नियम कडासाथ लागू गर्ने भनेको थियो।

यो निर्णयलाई दलहरू र नागरिक समाजबाट विरोध भइरह्यो। नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबारनजिकै माइतीघर मण्डलमा प्रदर्शन गर्न पाउनु पर्ने बताएका थिए।

‘निषेधाज्ञा उचित समयमा तोडिनेछ। अमेरिकामा ह्वाइटहाउस सामुन्ने विरोध गर्न पाइन्छ नेपालमा सिंहदरबारनजिकै मण्डलमा नपाइने? प्रदर्शन रोक लगाउने सरकारलाई स्मरण गराउँछु- यो उत्तर कोरिया होइन नेपाल हो।’

नागरिक समाजका तर्फबाट २०७५ असार २ मा डाक्टर गोविन्द केसी माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका थिए। उनी ‘नागरिक स्वतन्त्रता खोस्न दिँदैनौं, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ लेखेको प्लेकार्ड हातमा लिएर माइतीघर मण्डलमा उभिएका थिए।

सरकारले मण्डलमा प्रदर्शन गर्न रोक लगाउनु संविधानको धारा १७ ले व्यवस्था गरेको स्वतन्त्र हकको विरूद्ध हुने भन्दै दलहरू र नागरिक समाजबाट विरोध भएको थियो। सरकारको उक्त निर्णय लोकतन्त्रको मर्मविपरीत रहेको व्याख्या भएका थिए।

दल तथा नागरिक समाजबाट विरोध भइरहेपछि २०७५ साउन २८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुख खोलेका थिए।

बालुवाटारमा मिडिया सोसाइटीका निर्वाचित पदाधिकारीलाई बधाइ दिने कार्यक्रममा ओलीले भनेका थिए, ‘माइतीघर मण्डल आमसभा, जुलुस गर्ने उपयुक्त ठाउँ हो? यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने?’

प्रधानमन्त्रीले सोधेका ती प्रश्नको उत्तर अहिले उनकै गृहमन्त्रीले दिएका छन्। 

सेतोपाटिबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo