काठमाडौं, १२ चैत्र । कञ्चनपुरकी किशोरी निर्मला पन्तकोहत्याका दोषी नजिक प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार दोषीको लगभग पहिचान भइसकेको र बलियो तथ्य प्रमाण संकलन भइसकेपछि पक्राऊ गरी सार्वजनिक गर्ने तयारी भएको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रवक्ता मुकेश कुमार सिंहले निर्मला पन्तको हत्याका दोषी नजिक पुगिसकेको बताए । उनले रिपोर्टर्स नेपालसँग भने,‘दोषीलाई चाँडै पत्ता लगाउने छौं ।’ उनले अब केही दिनमै दोषीबारे खुल्न सक्ने बताए । दोषीलाई कहिलेसम्म पत्ता लगाउनुहुन्छ भन्ने प्रश्नमा सिंहले भने,‘हामी यति हप्ता भन्थ्यौं अब यति दिन भन्नेमा आयौं ।’ अबको केही दिनमै दोषीबारे खुल्नसक्ने सिंहले बताए ।
भागरथी भट्टको बलात्कारपछि हत्याका दोषी दिनेश भट्ट पक्राउ परेपछि सुदुरपश्चिम प्रदेश प्रहरी निर्मला पन्तको हत्याको अनुसन्धानतर्फ केन्द्रित भएको थियो । नेपाल प्रहरीको मुख्यालयबाट पनि यसबारे निकै चासो व्यक्त भएको थियो । त्यसपछि प्रहरीले दोषी पत्ता लगाउने अनुसन्धान प्रक्रियालाई गति दिइरहेको छ ।
११ साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो । रिपोर्टसनेपालबाट