रुपन्देहीको तिलोत्तमामा एक प्रहरी जवानद्वारा युवतीमाथि बलात्कारपछि हत्याको प्रयास भएको खुलेको छ ।
तिलोत्तमा–११ की अन्दाजी १९ वर्षिया युवतीलाई प्रहरी जवानले बलात्कार गरी हत्या प्रयास गरेको बताइएको छ ।
आरोपित नवलपरासीको जर्घामा कार्यरत अन्दाजी २२ वर्षिय प्रहरी जवान सुरेश कठौरिया थारुलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाइएको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख प्रतीत सिह राठोरले बताए ।
शनिवार विहान करिब ५ बजेको समयमा ती प्रहरी जवानले युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेका थिए । ‘युवतीको घाँटीमा झोलाको फित्ताले कसेर लतार्दै जंगलमा फ्याँकिएको रहेछ ।’
पारिवारिक स्रोतले भन्यो,‘युवती बेहोस भइसकेपछि युवकले मर्यो भन्ने ठानेर त्यसै छोडेर फरार भयो । पछि युवती आफै उठेर अचेत अवस्थामा हिँडिरहेको देखेपछि स्थानीयले उद्दार गरे ।’
घटना बारे जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका छन् । पीडित युवतीलाई रुपन्देहीको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।