धादिङ, ६ चैत । एक्स्काभेटर (डोजर) को ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालकलाई पक्राउ गरिएको छ ।
धादिङकी त्रिपुरासुन्दरी–१ सल्यानटारकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएर खाल्डोमा पुर्ने गोजर चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी भारतबाट पक्राउ गरी नेपाल ल्याएको जानकारी दिएको हो ।
घाँसको भारी बोकेर आएकी कुमालललाई डोजरले ठक्कर दिएपछि खाल्डोमा खसेकी थिइन् । डोजरको ठक्करले खाल्डोमा खसेकी कुमाललाई उद्धार गर्नुको साट्टो चालक बुढाथोकीले खाल्डोको वरिपरिको माटो खनेर पुरिदिएका थिए ।
तर, यहीँ समयमा काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले जिउँदै मान्छेलाई पुरेको देखेपछि खैलाबैला गरेको थियो । ‘डोजरले मान्छे पुर्यो’ भन्दै हल्ला भएपछि चालक बुढाथोकी फरार भएका थिए । त्यसपछि खाना खाँदै गरेका मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।
फरार भएका चालकलाई झण्डै ३ सातापछि भारतको हरिद्वारबाट पक्राउ गरी नेपाल ल्याएको हो । यद्यपि सिआइबीले भने नेपाल भारत सिमाको गड्डाचौकीबाट पक्राउ गरेको दाबी गरेको छ ।