KhabarUjyalo

सिद्धबाबालाई सफाइ दिने न्यायाधीश उच्च अदालतमा सिफारिस

२९ फाल्गुन २०७७, शनिबार
सिद्धबाबालाई सफाइ दिने  न्यायाधीश उच्च अदालतमा सिफारिस

बलात्कार मुद्दामा विवादास्पद फैसला गरेका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत कारबाहीको सिफारिसमा परेका जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को शुक्रबारको बैठकले जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सिफारिस गरेको हो । 

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा कोइरालाले दिएको फैसलाको सर्वत्र आलोचना भएको थियो । ‘सिद्धबाबाले महिलासँग सम्बन्ध राखे पनि त्यो बलात्कार नभई महिलाले नै मोहित भएर आफ्नो शरीर समर्पण गरेको’ भन्दै उनले सफाइ दिएका थिए । सरकारी पक्षको बहससमेत नसुनी उनले एकतर्फी फैसला गरेका थिए, जुन फैसलाले न्यायालयकै आलोचना भएको थियो । 

कोइराला यसअघि सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न सहजीकरण गरेको आरोपमा छानबिनमा तानिएका न्यायाधीश हुन् । नक्कली कागजपत्रका आधारमा अदालतमा मुद्दा दर्ता गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न उनले सघाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको थियो । कोइरालाको समेत गल्ती देखिएपछि आयोगले ०७५ को जेठमा उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यसमा संलग्न अन्यमाथि आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मुद्दा चलाएकोमा न्यायाधीशलाई कारबाही गर्न न्यायपरिषद्ले मात्र मिल्ने भएकाले परिषद्लाई सिफारिस गरिएको थियो । तर, कारबाही नगरी कोइरालालाई सुनसरीमा सरुवा गरिएकोमा अहिले थप पुरस्कृत गरी उच्च अदालतमा सिफारिस गरिएको छ । न्यायपरिषद्का सदस्य रहेका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले उनको सिफारिसमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । नयाँ पत्रीकाबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo