Khabar Ujyalo

अब ‘आफन्त’ एप मार्फत संसारभरका ग्राहकलाई आफुले उत्पादित बस्तु बिक्री गर्न सक्ने

२१ फाल्गुन २०७७, शुक्रबार
अब ‘आफन्त’ एप मार्फत संसारभरका ग्राहकलाई आफुले उत्पादित बस्तु बिक्री गर्न सक्ने


काठमाण्डौ – उद्यमशीलता विकासका लागि ‘आफन्त’ नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेसा प्रवर्द्धन गर्ने उद्देश्यले केही दिनअघि मात्रै ‘आफन्त’ नामक सामाजिक सञ्जाल सञ्चालनमा ल्याएको हो । 

नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याइएको ‘आफन्त’ लाई उत्पादनदेखि बजारीकरणका लागि साना उद्योगी तथा व्यवसायीहरूले उपयोग गर्न सक्नेछन् । उत्पादन, बजार, उद्यमीलाई जोड्न सकियोस् र प्रयोगकर्तालाई सजिलो होस् भनेर एप सञ्चालनमा ल्याइएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष तथा आफन्त नेपाल प्रालीका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो । 

अध्यक्ष गिरीले भन्नुभयो, ‘वेबसाइट तथा एप दुवै माध्यममा उपलब्ध आफन्त सञ्जाल गाउँघरमा उत्पादित सामग्री, साना तथा लघु उद्यमीका उत्पादनलाई  बजारीकरण गर्न सहज हुनेछ । कृषि, औद्योगिकलगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद–बिक्रीबारे जानकारी लिने–दिने माध्यमका रूपमा यो एप र सञ्जाललाई विकास गरेका छौँ । निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदानप्रदान गर्ने माध्यमको रूपमा आफन्तलाई अगाडि बढाएका छौँ ।’ 

अन्य सामाजिक सञ्जालमा जस्तै ‘आफन्त’ मा तस्बिर, भिडिओ पोस्ट गर्न तथा लेख, ब्लग पनि पोस्ट गर्न, च्याट गर्न मिल्नेछ । अन्य सामाजिक सञ्जालभन्दा ‘आफन्त’ मार्फत उद्योगी व्यवसायीले संसारभर छरिएका ग्राहकलाई कुनै पनि उत्पादन बिक्री गर्न सक्ने छन् ।

रोजगारी दिने र कामको खोजीमा रहेकालाई पनि सहयोग पुर्‍याउने ‘आफन्त’ प्लेटफर्ममा आफ्नो कम्पनीलाई चाहिएको जनशक्तिबारे विस्तृत विवरण राख्न सकिनेछ । आफन्तमा सबै नेपालीलाई जोडेर व्यापार गराउने उद्देश्य रहेको भन्दै उहाँले यसलाई अझै परिष्कृत गर्दै लैजाने गिरीको भनाइ छ ।  

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.