काठमाडौं । एसिड आक्रमण पीडित मुस्कान खातुन अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गरेकी छन् ।
एसिड आक्रमणमा परेर एसिड पीडितकै पक्षमा संघर्ष गर्दै आएको भन्दै मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गरेको हो । हरेक वर्ष विश्वभरका साहसी महिलाहरुलाई प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउने मुस्कान पहिलो नेपाली बनेकी छन् ।
सन् २००७ बाट सुरु गरिएको यो अवार्डका लागि विश्वभर विभिन्न मुलुकमा रहेका अमेरिकी दूतावासहरुले उम्मेदवार सिफारिस गर्ने गर्दछन् । यस वर्ष नेपालस्थित अमेरिकी दूतावासको सिफारिसमा परेकी मुस्कानले यो अवार्ड प्राप्त गर्न सफल भएकी हुन् ।
अमेरिकी दूतावासले ट्विटरमार्फत मुस्कानले एसिड आक्रमण अन्त्यका लागि उनले गरेको पहल र संघर्षका लागि यो अवार्ड प्रदान गर्न लागिएको जनाएको छ ।
मुस्कानलाई २०७६, भदौ २० गते बिहान स्कुल जानेक्रममा दुई किशोरले एसिड आक्रमण गरेका थिए । वीरगञ्ज महानगरपालिकाका-३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कानले एसिड आक्रमण अन्त्य गर्नुपर्छ भन्दै अभियान नै सुरु गरेकी थिइन् ।