धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको हत्या प्रकरणका आरोपित किशोर दिनेश भट्टको तेस्रोपटक म्याद थप गरिएको छ । बैतडी जिल्ला अदालतबाट शुक्रबार पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आरोपित नाबालक भएकाले २१ दिनभन्दा बढी प्रहरी हिरासतमा राख्न नपाउने प्रावधान भएकाले त्यसभित्रै सबै अनुसन्धान सक्ने गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।
“केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको मृतकको भजाइनल स्वाब, मुखको स्वाब र योनिबाट निस्केको रगतको परीक्षण रिपोर्ट अझैसम्म आएको छैन् ।” डीएसपी अधिकारीले भने, “रिपोर्ट आएसँगै मिसिलमा प्रमाण थपिनेछ ।”
दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथी माघ २१ गते विद्यालय गएकी थिइन् । दिउँसो २ बजे विद्यालयबाट घर जान हिँडेकी उनको भोलिपल्ट खोचलेक—चडेपानी ग्रामीण सडकबाट ३० मिटर तल वनमाराको झाडीमा शव फेला परेको थियो । प्रहरीले सोही विद्यालयमै कक्षा ११ मा पढ्ने उनकै १६ वर्षीय छिमेकी भाइलाई घटनाको मुख्य आरोपीका रूपमा प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।