धनगढी : भीमदत्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका वडा नम्बर ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझ करीव पाँच बजे द्धन्दकालीन विद्युतीय धराप(एम्बुस) बिष्फोट हुदा चार जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले सडक चौडा तथा मर्मतका लागि काम गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुदा चालक सहित चार जना घाईते भएको बताए ।
प्रहरीका अनुसार घाइते हुनेमा जेसिबी चालक कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेका छन् ।
घाईते चार जना मध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ । अन्य तीन जना घाईतेलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको छ ।
बिष्फोटमा परी कैलाली चुरे गाँउपालिका -३ का ४५ वर्षीय बसन्त खडायतको टाउको र अनुहारमा चोट लागेको छ । सुर्खेत घर भई हाल कञ्चनपुर बस्ने रोलर अप्रेटर २२ वर्षीय हिरा थापा टाउको र अनुहारमा चोट लागेको छ । बिराटनगर घर भई हाल कञ्चनपुर बस्ने ३५ वर्षीय नबिन देबको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।