KhabarUjyalo

प्रधानमन्त्रीले किन एक्कासी बोलाए सुरक्षा परिषद बैठक?

११ फाल्गुन २०७७, मंगलवार
प्रधानमन्त्रीले किन एक्कासी बोलाए सुरक्षा परिषद बैठक?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गर्नु भएको छ ।

सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक डाकिएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।

स्रोतका अनुसार संसद् पुनःस्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कुटनीतिक वृत्तसँग छलफल गरिरहनु भएको छ ।

विभिन्न दलका नेता र सुरक्षा निकायका प्रमुखसँगपनि प्रधानमन्त्रीले भेट गरेर परामर्श लिनुभएको स्रोतको भनाइ छ ।

संसद् पुनस्थापनाको पक्षमा अदालतले निर्णय गरे र सुर्य चिन्ह आफूलाई नदिए आन्दोलनका लागि उर्तिने प्रधानमन्त्रीले धम्की दिनुभएको छ । सो धम्की दिएको केही दिनपछि बस्न लागेको परिषद्को बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थाप र प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो । प्रतिनिधि सभा विघटनको मुद्दाको फैसला सुनाउने अन्तिम अवस्थामा भएको यो भेटले राजनीतिमा तरंग ल्याएको छ ।

परिषद्का सदस्यसचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने मंगलबार बिहान डाकिएको बैठक नियमित भएको प्रतिक्रिया दिनुभएको छ ।

यसअघि परिषद्को बैठक ५ कात्तिक ०७७ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । त्यही राति भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गर्नुभएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo