KhabarUjyalo

आइपिएलमा किन बिकेन्न सन्दीप ?

८ फाल्गुन २०७७, शनिबार
आइपिएलमा किन बिकेन्न सन्दीप ?

काठमाडौं । सन् २०२१ को इन्डियन प्रिमियम लिग (आइपिएल)का लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने बिक्री भएनन् । भारतको चेन्नईमा आइपिएलको बिहीबार भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् ।

आइपिएलमा सन्दीपले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपिएलको कुनै पनि टोलीले रुचि देखाएनन् ।

चेन्नईमा भएको लिलामीमा लेग स्पिनर सन्दीपलाई तीन फरक टिमले किन्न सक्ने आंकललन गरिएको थियो । तर, उनीप्रति कुनै पनि टिमले रुचि देखाएनन् । यसबाट नेपाली दर्शकहरु पनि निराश बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु दिएका छन् ।

सन्दीप यो वर्ष आइपिएलमा नबिक्नुमा अन्तर्राष्ट्रिय लिगहरुमा पछिल्लो सयममा उनले गरेको खराब प्रदर्शनलाई प्रमुख कारण मानिएको छ । सन्दीपले अष्ट्रेलियाको बिग ब्यास लिगमा यो वर्ष होबार्ट हरिकेन्सबाट खेलेका थिए । सो लिगमा उनले आठ खेलमा आठै विकेट मात्र लिन सके । उनी तीन खेलमा विकेटविहीन बनेका थिए भने तीन खेलमा २–२ विकेट लिएका थिए । सन्दीपले लगातार विदेशी लिग खेल्दै आएका छन् । तर म्याच विनिङ प्रर्दशन भने गर्न सकेका छैनन् ।

सबै प्रतियोगितामा उनको प्रर्दशन औसत पाइन्छ । सन्दीप विदेशी लिगमा म्यान अफ द म्याच कमै खेलमा भएका छन् । विदेशी कोटामा फ्रेन्चाइज टोली सकेसम्म म्याच विनर चाहन्छन् । त्यसैले सन्दीप प्रति फ्रेन्चाइज टोलीको रुचि घट्न थालेको विश्लेषकहरुको भनाइ छ ।

सन्दीपले पहिलोपटक सन् २०१८ मा तत्कालिन दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल)बाट आइपिएल खेलेका थिए । त्यो उनी भारु २० लाख अर्थात नेरु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहेका सन्दीपलाई फुकुवा गरेपछि उन यसपटक अक्सनमा सहभागी भएका हुन् ।

सन् २०१८ को आइपिएलमा सन्दीपले तीन खेलमा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा सन्दीपले ६ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo